२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

Radio Khabar Palika

खानेपानी टंकी क्षेत्रमा सरसफाइसँगै वृक्षारोपण( फोटो फिचर सहित )



२३ साउन,धनकुटा । धनकुटा नगरपालिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी टंकी क्षेत्रको सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।

खानेपानी टंकी आसपासको क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले टंकी क्षेत्र तथा आसपासमा सरसफाइ गर्नुका साथै विभिन्न प्रजाति ( केरा , सिरीस, फूल) का बिरुवा रोपेका थिए।

कार्यक्रममार्फत सार्वजनिक स्थल तथा आसपासका क्षेत्रमा फोहोर व्यवस्थापन, सरसफाइ प्रवद्र्धन र वातावरण संरक्षणसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको समितिका सचिव अर्जुन छाराले बताए।

उनले खानेपानीका मुहान तथा संरचनाको संरक्षणसँगै वातावरणीय स्वच्छता कायम गर्न स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। कार्यक्रममा कोशी प्रदेश सभा सदस्य निरन राईले सरसफाइलाई नियमित अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

उनले वृक्षारोपण गरेर मात्र अभियान पूरा नहुने भन्दै रोपिएका बिरुवाको संरक्षण र नियमित सरसफाइमा समेत ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवालाले समुदायको सहभागितामा सञ्चालन हुने यस्ता अभियानले वातावरण संरक्षणसँगै सरसफाइसम्बन्धी सकारात्मक व्यवहार विकास गर्न सहयोग पुग्ने बताएका थिए।

उनीहरूले खानेपानीका स्रोत तथा सार्वजनिक स्थलको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए। समितिले केही दिनअघि खानेपानीको मुहान क्षेत्रको समेत सरोकारवालासहित अनुगमन गरेको थियो।

खानेपानीको मुहान, टंकी तथा वितरण प्रणालीको संरक्षण र सरसफाइलाई प्राथमिकतामा राखेर नियमित अनुगमन तथा अभियान सञ्चालन गर्दै आएको समितिले जनाएको छ।

खानेपानीको स्रोत संरक्षण, वातावरणीय स्वच्छता र समुदायको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने समितिले जनाएको छ।