
१६ साउन, धनकुटा । धनकुटा उद्योग वाणिज्य सङ्घको ४६औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोह र बन्दसत्र सम्पन्न भएको छ। नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति गठन गरिएको छ भने केही दिनभित्र निर्वाचन तालिका सार्वजनिक गरिने भएको छ।
साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढे मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताए। उद्योगी–व्यवसायीका समस्या समाधानका लागि निजी क्षेत्र एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले धनकुटाको विकास र समृद्धिको प्रमुख आधार उद्योग, व्यापार र व्यवसाय भएको उल्लेख गरे। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जीवन पराजुलीले पनि शुभकामना मन्तव्य व्यक्तदिएका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्र शर्मा, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, नेकपा (एमाले)का जिल्ला सहसचिव नैन विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव आशिष तामाङ, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सह–इन्चार्ज कविता राई, श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष आकाश लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो। यस्तै, नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष बिदुर खवास, विभिन्न जिल्लाका उद्योग वाणिज्य सङ्घका अध्यक्ष, पूर्व अध्यक्ष, समाजसेवी तथा व्यवसायीहरूले पनि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमका अवसरमा उद्योग, व्यवसाय र सामाजिक क्षेत्रमा योगदान पुर्याएका पूर्व अध्यक्ष लालचन्द्र गंगा तामाङ, उमेश घिमिरे, नेपाल नेत्रज्योति सङ्घ धनकुटाका अध्यक्ष तथा युवा व्यवसायी रोशेस श्रेष्ठ, पूर्व डीआईजी दिनेश अमात्य, समाजसेवी तथा व्यवसायी रामनारायण प्रसाद रामा, डा। खगेन्द्र कटवाल, युवा व्यवसायी भविषेक कर्माचार्य तथा महिला व्यवसायी मनु लिम्बूलाई दोसल्ला, टोपी र सम्मानपत्रसहित सम्मान गरिएको थियो।
सम्मानित व्यक्तित्वहरूलाई नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोष राई तथा वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङले सम्मान गरेका थिए । अध्यक्ष विजय सन्तोष राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङले स्वागत मन्तव्यसहित भावी कार्यक्रम प्रस्तुत गरिन। कार्यवाहक महासचिव राम रायमाझीले सङ्गठनको प्रगति प्रतिवेदन र कोषाध्यक्ष रुपेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उद्घाटनपछि सम्पन्न बन्दसत्रले भावी कार्यक्रम, आर्थिक प्रतिवेदन र प्रगति प्रतिवेदन सुझावसहित पारित गरेको छ।अधिवेशनमा कोशी प्रदेशका ११ वटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पदाधिकारी एवं सदस्यहरूको समेत सहभागिता रहेको थियो। नयाँ नेतृत्व चयनका लागि व्यवसायी तथा समाजसेवी विकास प्रधानको संयोजकत्वमा चार सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिले केही दिनभित्र निर्वाचन तालिका सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउने धनकुटा उद्योग वाणिज्य सङ्घले जनाएको छ।
