१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

Radio Khabar Palika

खुकुरी उद्यमले फेरिँदै धनकुटाको कटहरे गाउँ



परम्परागत आरनबाट आधुनिक उद्योगसम्म, देश–विदेशमा पुग्दै कटहरेका खुकुरी

  • परम्परागत आरनबाट आधुनिक उद्योगमा रूपान्तरण: धनकुटाको पाख्रीबास–५ कटहरे गाउँका विश्वकर्मा समुदायले परम्परागत आरनलाई आधुनिक उपकरणसहितको साना उद्योगमा रूपान्तरण गर्दै गुणस्तरीय खुकुरी उत्पादन गरिरहेका छन्।
  • देश–विदेशसम्म बजार विस्तार: कटहरेमा बनेका खुकुरी काठमाडौं हुँदै विदेशसम्म पुग्न थालेका छन्। गुणस्तर र डिजाइनअनुसार रु. १,५०० देखि रु. १२,००० सम्ममा बिक्री हुने खुकुरी अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ।
  • गाउँको आर्थिक र सामाजिक रूपान्तरण :खुकुरी उद्योगका कारण गाउँमै रोजगारी सिर्जना भएको, वैदेशिक रोजगारीबाट युवा फर्किन थालेका, नगद कारोबार बढेको तथा घर, शिक्षा र जीवनशैलीमा उल्लेखनीय सुधार आएको छ।
  • चुनौतीसँगै ठूलो सम्भावना : कच्चा पदार्थको मूल्यवृद्धि, ब्रान्डिङ र बजार विस्तार चुनौती भए पनि सरकारी सहयोग, प्रविधि र बजारीकरणको साथ पाए कटहरेको खुकुरी उद्योग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ स्थापित हुन सक्ने स्थानीयको विश्वास छ।

    विदुर खवास

    १३ साउन, धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित घोर्लीखर्कको कटहरे गाउँमा बिहानको सुरुवात भालेको डाकसँगै आरनमा बल्ने आगो र फलाम पिट्ने घनको आवाजबाट हुन्छ। पुस्तौँदेखि विश्वकर्मा समुदायले जोगाउँदै आएको यही आवाज अहिले केवल परम्पराको प्रतीक मात्र होइन, गाउँको आर्थिक समृद्धिको संकेत पनि बनेको छ।

    कुनै समय खेतीपातीका लागि फाली, हँसिया र कोदालो बनाउँदै जीवन धान्ने कटहरेका शिल्पी अहिले आधुनिक प्रविधिको प्रयोग गरेर गुणस्तरीय खुकुरी उत्पादन गरिरहेका छन्। परम्परागत सीपलाई समयअनुकूल रूपान्तरण गर्न सफल भएपछि यो सानो गाउँ अहिले पूर्वी नेपालको खुकुरी उत्पादनको महत्वपूर्ण केन्द्रका रूपमा परिचित बन्दै गएको छ।

    आरनघरबाट घर–घरमा उद्योग

    भोजपुर, खोटाङ र संखुवासभाको प्रवेशद्वारका रूपमा चिनिने कटहरेमा अहिले २३ घरपरिवार परम्परागत धातुजन्य हस्तकलामा आबद्ध छन्। केही वर्षअघिसम्म सामूहिक आरनघरमा पालो कुर्दै औजार बनाउने यहाँका शिल्पी अहिले आफ्नै घरमा आधुनिक उपकरणसहित साना उद्योग सञ्चालन गरिरहेका छन्। ग्राइन्डर, ब्लोअर, कटिङ मेसिनलगायतका आधुनिक प्रविधिको प्रयोगले उत्पादनलाई सहज, छरितो र गुणस्तरीय बनाएको छ। यसले श्रमको मूल्य मात्र बढाएको छैन, पुस्तौँदेखि चल्दै आएको सीपलाई व्यवसायिक रूपसमेत दिएको छ।

    देशदेखि विदेशसम्म पुग्दै कटहरेका खुकुरी

    कटहरेमा बनेका खुकुरी अहिले स्थानीय बजारमा मात्र सीमित छैनन्। अर्डरका आधारमा काठमाडौं हुँदै विदेशसम्म पुग्न थालेका छन्। गुणस्तर, डिजाइन र आकारअनुसार एक हजार पाँच सयदेखि १२ हजार रुपैयाँसम्ममा बिक्री हुने खुकुरी अहिले अधिकांश परिवारको मुख्य आम्दानीको स्रोत बनेको छ। स्थानीय झमक रसाइली भन्छन्, पहिले खेतीपाती र आरनकै भरमा मुस्किलले घर चल्थ्यो। अहिले आफ्नै घरमा उद्योग छ। उत्पादनको राम्रो मूल्य पाइन्छ, त्यसैले परिवार चलाउन सहज भएको छ।उनका अनुसार खुकुरी उत्पादनले गाउँको आर्थिक अवस्था मात्र होइन, जीवनशैलीसमेत परिवर्तन गरिदिएको छ।

    परिवर्तनिएको गाउँ, फेरिएको जीवनशैली

    स्थानीयका अनुसार एउटा परिवारले वर्षमा चार सय वटासम्म खुकुरी उत्पादन गर्ने गरेका छन्। उत्पादन बढेसँगै पहिलेको बालीघरे प्रथा पनि लगभग अन्त्य भएको छ। अन्नको सट्टा औजार बनाइदिने चलन हटेर नगद कारोबार हुन थालेपछि श्रमको उचित मूल्य स्थापित भएको छ। उद्योग विस्तारसँगै कटहरेको स्वरूप पनि फेरिएको छ। फुसका छाना भएका घर अहिले जस्तापाताले छाइएका छन्। अधिकांश परिवारले आफ्ना छोराछोरीलाई विद्यालय पठाउन थालेका छन् भने उच्च शिक्षा अध्ययन गर्ने युवाको संख्या पनि बढ्दै गएको छ।

    बजारको मागअनुसार बदलिँदै उत्पादन

    स्थानीय ताराबहादुर विश्वकर्माका अनुसार अहिले बजारको मागअनुसार उत्पादनमा विविधता ल्याइएको छ।पहिले सामान्य प्रयोगका लागि मात्र खुकुरी बनाइन्थ्यो, उनी भन्छन्,अहिले सजावटी, उपहारका लागि र सङ्कलनयोग्य खुकुरीको माग बढेको छ। त्यसअनुसार डिजाइन र गुणस्तरमा सुधार गर्दै उत्पादन गरिरहेका छौं। यसले कटहरेका खुकुरीलाई केवल घरेलु प्रयोगको सामग्री नभई सांस्कृतिक तथा उपहारजन्य उत्पादनका रूपमा पनि स्थापित गर्न थालेको छ।

    स्वदेशमै रोजगारीको सम्भावना

    खुकुरी उद्योगको विस्तारसँगै गाउँमै रोजगारी सिर्जना भएको छ। स्थानीय प्रेमबहादुर विश्वकर्माका अनुसार वैदेशिक रोजगारीमा गएका केही युवा पनि गाउँ फर्केर यही उद्योगमा आबद्ध हुन थालेका छन्। ूविदेशमा दुःख गर्नुभन्दा आफ्नै गाउँमा काम गरेर परिवारसँग बस्न पाइन्छ,उनी भन्छन्, सीप भएकालाई यहीँ राम्रो सम्भावना छ। यसले परम्परागत पेशालाई नयाँ पुस्ताले पनि अपनाउन थालेको संकेत दिएको स्थानीयको भनाइ छ।

    अझै बाँकी छन् चुनौती

    उद्योगले सफलता हासिल गरिरहेको भए पनि चुनौती भने कायमै छन्। कच्चा पदार्थको बढ्दो मूल्य, आधुनिक उपकरणको महँगो लागत, पर्याप्त ब्रान्डिङको अभाव र बजार विस्तारको चुनौतीले उत्पादनलाई अझ प्रतिस्पर्धी बनाउन कठिनाइ भइरहेको उद्योगीहरूको गुनासो छ। उनीहरू सरकारी निकायबाट प्रविधि, सीप विकास, वित्तीय सहयोग र प्रभावकारी बजारीकरणमा सहयोग प्राप्त भए कटहरेको खुकुरी उद्योगलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ स्थापित गर्न सकिने विश्वास व्यक्त गर्छन्।

    सीपले लेख्दै समृद्धिको नयाँ कथा

    कुनै समय गरिबी, अभाव र सामाजिक विभेदका कारण पछि परेको कटहरे गाउँ अहिले आफ्नै सीप, श्रम र सिर्जनशीलताको बलमा आर्थिक रूपान्तरणको उदाहरण बनेको छ। परम्परागत आरनलाई आधुनिक उद्योगमा रूपान्तरण गर्दै यहाँका शिल्पीले खुकुरीलाई केवल एउटा औजारका रूपमा होइन, गाउँको समृद्धि, पहिचान र आत्मनिर्भरताको प्रतीकका रूपमा स्थापित गरेका छन्। पूर्वी नेपालको पहाडी भेगमा रहेको यो सानो गाउँले परम्परा र प्रविधिको सफल संयोजन गर्दै ग्रामीण उद्यमशीलताको एउटा प्रेरणादायी कथा लेखिरहेको छ।