
२९ असार,धनकुटा ।कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका घटना निरन्तर भइरहेका बेला कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको अवस्था पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ। मानव अधिकार एलाइन्सको २७औँ स्थापना दिवसका अवसरमा धनकुटामा आयोजित ‘कोशी प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक कार्यक्रममा सार्वजनिक तथ्यांकले यस्तो अवस्था उजागर गरेको हो।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशका प्रमुख मनोहर पोख्रेलले सन् २०२६ को पहिलो ६ महिनामा कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका ३ सय ३१ जना पीडित रहेको जानकारी दिए । उनका अनुसार महिला अधिकारसँग सम्बन्धित ६१, बाल अधिकारका १ सय ११ र नागरिक अधिकारसँग सम्बन्धित १ सय ५९ वटा घटना अभिलेख भएका छन्। कार्यक्रममा प्रस्तुत तथ्यांक अनुसार देशभरका कारागारहरूको क्षमता १६ हजार ९ सय ५६ जनाको भए पनि हाल २५ हजार ९२ जना कैदीबन्दी रहेका छन्। अर्थात् कारागारहरूमा क्षमताभन्दा करिब ८ हजार १ सय ३६ जना बढी कैदीबन्दी राखिएको छ। यस्तै देशभरका कारागारबाट ३ हजार ८ सय ३ जना कैदीबन्दी फरार रहेको तथ्यांक पनि सार्वजनिक गरिएको छ। इन्सेकका अनुसार सन् २०२५ मा मात्रै कोशी प्रदेशमा मानवअधिकार उल्लंघनका घटनाबाट १ हजार ४ सय ८९ जना पीडित भएका थिए।

कार्यक्रममा बोल्दै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री उमाकान्त गौतमले मानवअधिकार संरक्षण सरकार मात्रको जिम्मेवारी नभई सबै पक्षको साझा दायित्व भएको बताए। उनले कानुनको अज्ञानताले पनि धेरै समस्या निम्तिने भएकाले नागरिकलाई कानुनी सचेतना आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरूले मानवअधिकार संरक्षणका लागि कानुनी शासनको प्रभावकारी कार्यान्वयन, कारागार सुधार तथा नागरिकमा अधिकारसँगै दायित्वबारे सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।

