२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

Radio Khabar Palika

छथर जोरपाटीमा ‘शिशु बचत–लखपति’ कार्यक्रम सुरु, नवजातका लागि ४ करोड १ लाख छुट्याइयो



  • शिशु बचत–लखपति’ कार्यक्रम सुरु स् गाउँपालिकाभित्र जन्मिने प्रत्येक नवजात शिशुको नाममा मुद्दती बचत खाता खोलिने तथा कार्यक्रमका लागि ४ करोड १ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। शिशुले १८ वर्ष पूरा भएपछि उक्त रकम उच्च शिक्षा वा अन्य आवश्यकतामा प्रयोग गर्न सक्ने व्यवस्था गरिनेछ।
  • ४६ करोड रुपैयाँको बजेट स् आर्थिक वर्ष २०८३र०८४ का लागि ४६ करोड रुपैयाँको बजेट सार्वजनिक गरिएको छ। कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकता दिइएको छ।
  • कृषि, पर्यटन र स्वास्थ्यमा जोड स् उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र कृषि उपजको बजारीकरण, पर्यटन गुरुयोजना कार्यान्वयन, स्वास्थ्य बिमा शुल्कमा ५० प्रतिशत अनुदान, २४ घण्टे प्रसूति सेवा, मातृ–शिशु स्वास्थ्य तथा पोषण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  • गत वर्षभन्दा बजेट घट्यो गत आर्थिक वर्षको ४९ करोड ६० लाख ७० हजार रुपैयाँको तुलनामा यस वर्षको बजेट ३ करोड ६० लाख ७० हजार रुपैयाँले कम रहेको गाउँपालिकाले जनाएको छ।

विदुर खवास

२१ असार, धनकुटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले नवजात शिशुको भविष्य सुरक्षित बनाउने उद्देश्यले आगामी आर्थिक वर्षदेखि ‘शिशु बचत–लखपति कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कार्यक्रमका लागि गाउँपालिकाले ४ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ।

आइतबार सम्पन्न गाउँसभामा आर्थिक वर्ष २०८३।०८४ को बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष गीता गुरुङ खेवाले गाउँपालिकाभित्र जन्मिने प्रत्येक शिशुको नाममा मुद्दती बचत खाता खोलिने जानकारी दिइन। कार्यविधिअनुसार जम्मा भएको रकम शिशु १८ वर्ष पूरा भएपछि उच्च शिक्षा वा भविष्यका आवश्यकताका लागि उपयोग गर्न सकिने व्यवस्था गरिने गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले बताए ।
यसैसँग गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कुल ४६ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बजेटमा कृषि, पशुपालन, पर्यटन, स्वास्थ्य तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले ‘पशुपालन, सहकारी, उद्योग, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजार सुनिश्चितता–समृद्ध गाउँपालिकाको साझा प्रतिबद्धता’ भन्ने नारासहित कृषि तथा पशुपालनलाई आर्थिक विकासको मुख्य आधार बनाउने नीति लिएको छ। उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र कृषि उपजको बजारीकरणमा विशेष जोड दिइएको छ। पर्यटन क्षेत्रको विकासका लागि ‘पर्यटन पूर्वाधारको विकास गरौं, छथर जोरपाटी गाउँपालिकालाई चिनाऔं’ अभियान सञ्चालन गर्दै गाउँपालिकालाई दिगो तथा पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गर्न गुरुयोजना तयार गरी कार्यान्वयन गरिने भएको छ। स्वास्थ्यतर्फ ‘म स्वस्थ, मेरो पालिका स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने नारासहित पूर्ण खोप, पोषण, गर्भवती प्रोत्साहन भत्ता, मातृ–शिशु स्वास्थ्य, परिवार नियोजन तथा सुरक्षित प्रजनन स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ। स्वास्थ्य बिमाको शुल्कमा ५० प्रतिशत अनुदान तथा २४ घण्टे प्रसूति सेवालाई समेत बजेटले प्राथमिकता दिएको छ।

गाउँपालिका अध्यक्ष सुब्बाका अनुसार यसअघि असार ५ गते नीति तथा कार्यक्रम सार्वजनिक भए पनि बजेट विनियोजनसम्बन्धी छलफल लम्बिएकाले तोकिएको समयभित्र बजेट प्रस्तुत हुन सकेको थिएन। गत आर्थिक वर्ष २०८२।०८३ मा गाउँपालिकाले ४९ करोड ६० लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो। यस वर्षको बजेट अघिल्लो वर्षको तुलनामा ३ करोड ६० लाख ७० हजार रुपैयाँले घटेको छ।