
१० असार, धनकुटा । समाचार प्रकाशनको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका धनकुटाका पर्शुराम कार्कीलाई जिल्ला अदालत धनकुटाले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
महालक्ष्मी नगरपालिका–७ आन्द्रुङ निवासी कार्कीलाई जिल्ला प्रहरी कार्यालय धनकुटाले बिहीबार बिहान घरबाट पक्राउ गरेको थियो। पक्राउपछि थप अनुसन्धानका लागि जिल्ला अदालत धनकुटामा उपस्थित गराइएका कार्कीमाथि अदालतले पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका सूचना अधिकारी तथा डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए।
रेडियो धनकुटाको आधिकारिक अनलाइन पोर्टल धनकुटा एफएम डटकम मा असार ४ गते प्रकाशित “अख्तियारको डरले मोबाइल अफ गरेर कहाँ फरार भए कांग्रेस नेता सिद्धार्थ थापा रु” शीर्षकको समाचारपछि कार्कीले रेडियो धनकुटाका स्टेशन म्यानेजर तथा पत्रकार गोपाल बराइलीलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिएको आरोप छ।
प्रहरीका अनुसार कार्कीले मेसेन्जरमार्फत बराइलीलाई जातीय गालीगलौज गर्दै परिवार र ज्यानको समेत ख्याल गर्न चेतावनीपूर्ण सन्देश पठाएका थिए। परिवारलाई समेत जोडेर धम्की दिएपछि बराइलीले जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएका थिए। उक्त समाचार राहदानी छपाइ प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयमा आधारित थियो।प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ। पत्रकारमाथि समाचार लेखेकै आधारमा धम्की दिइएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको विषय पुनः चर्चामा आएको छ।

