
१ असार ,धनकुटा। धनकुटामा रहेको विश्रान्ति मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र नभई असहाय वृद्धवृद्धाको भरोसाको घरका रूपमा स्थापित हुँदै गएको छ। ४३ औँ वार्षिकोत्सव मनाइरहँदा मन्दिर परिसरमा सञ्चालित वृद्धाश्रममा हाल ३० जना वृद्धवृद्धाले आश्रय पाइरहेका छन्।
वि.सं. २०४२ सालमा दुई जना वृद्धवृद्धाबाट सुरु भएको सेवा अहिले विस्तार भएर समाजका असहाय ज्येष्ठ नागरिकको संरक्षणमा केन्द्रित भएको छ। वृद्धाश्रममा आश्रितहरूको हेरचाहका लागि आठ जना स्वयंसेवक परिचालित छन् भने उनीहरूलाई दैनिक रूपमा अग्र्यानिक खाना उपलब्ध गराइँदै आएको छ। २२ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरभित्र गाईपालन, तरकारी तथा फलफूल खेती सञ्चालन गरिएको छ। आश्रममा उत्पादित कृषि सामग्रीले आश्रित वृद्धवृद्धाको खाद्य आवश्यकतामा सहयोग पुर्याइरहेको विश्रान्ति मन्दिर व्यवस्थापन समितिले जनाएको छ। संस्थाले आर्थिक आत्मनिर्भरताका लागि सञ्चालन गरेको ‘रु १ बाट एक करोड’ अभियानमा हालसम्म तीन हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको छ। उक्त अभियान तथा विभिन्न अक्षय कोषमार्फत साढे तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको महासचिव जनार्दन घिमिरे ‘गोठाले’ले जानकारी दिए।

सामाजिक सेवासँगै वैदिक शिक्षा प्रवर्द्धन गर्ने उद्देश्यले २०७९ सालमा स्थापना गरिएको विश्रान्ति गुरुकुलमा हाल ४० जना विद्यार्थी अध्ययनरत छन्। गुरुकुलमा सात जना शिक्षक तथा एक जना स्वामीले अध्यापन गरिरहेका छन्। वार्षिकोत्सवको अवसरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड धनकुटाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वृद्धाश्रम तथा गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री हस्तान्तरण गरेको थियो।

