३ असार २०८३, बुधबार | Wed Jun 17 2026

Radio Khabar Palika

गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयद्वारा ५ स्रष्टा सम्मानित



३० जेठ ,धनकुटा। धनकुटाको देवानटारस्थित गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयले आफ्नो १५औँ वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा भाषा, साहित्य, कला, संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका पाँच जना स्रष्टालाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

पुस्तकालयका अध्यक्ष घनश्याम बरालका अनुसार यस वर्षको गर्गश्री सम्मान सुनसरीका साहित्यकार कृष्णप्रसाद अधिकारीलाई प्रदान गरिएको छ। त्यसैगरी धनमाया लामिछाने स्मृति पुरस्कार विराटनगरकी लक्ष्मी पोख्रेल सुवेदी, धनञ्जय घिमिरे स्मृति सम्मान धनकुटाका आनन्दसन्तोषी राई, डिल्लीमाया बराल स्मृति एकल महिला समाजसेवा पुरस्कार झापाकी राधादेवी घिमिरे तथा लक्ष्मीकान्त–देवकन्या–रुक्मिणी स्मृति पुरस्कार धनकुटाका माधवप्रसाद दाहाललाई प्रदान गरिएको छ।

सम्मानित व्यक्तित्वहरूलाई संस्थाका संस्थापक टिकाप्रसाद लामिछाने, साहित्यकार विवस पोख्रेल, जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङ तथा पुस्तकालयका पदाधिकारीहरूले दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरेका थिए। कार्यक्रमको अवसरमा सृजना वाचन कार्यक्रमसमेत आयोजना गरिएको थियो। पुस्तकालयका महासचिव मुकुन्द प्रयासका अनुसार कार्यक्रममा करिब एक दर्जन कवि तथा साहित्यकारहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए। २०६८ सालमा टिकाप्रसाद लामिछाने र पुण्यप्रभा लामिछानेले करिब २ करोड रुपैयाँ बराबरको सम्पत्ति दान गरेपछि स्थापना भएको पुस्तकालय हाल जिल्लाकै महत्वपूर्ण ज्ञान केन्द्रका रूपमा विकसित भएको छ। साधारणसभामा प्रस्तुत विवरणअनुसार पुस्तकालयको सम्पत्ति हाल करिब ५ करोड रुपैयाँ बराबर पुगेको छ।
पुस्तकालयमा नेपाली, अंग्रेजी तथा अन्य भाषाका गरी २४ हजार ९ सय २४ वटा पुस्तक संग्रहित छन्। साथै विभिन्न भाषाका १३ हजार ७ सय ६२ वटा पत्रपत्रिकासमेत रहेको पुस्तकालयकी कोषाध्यक्ष सुमना तिम्सिनाले जानकारी दिइन्।