२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

Radio Khabar Palika

संगठन विस्तारको जिम्मेवारी भुवन थापाको काँधमा, रास्वपा धनकुटाले पायो नयाँ नेतृत्व




२४ जेठ ,धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाले आफ्नो प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तार र सुदृढीकरणको जिम्मेवारी भुवन थापाको काँधमा सुम्पिएको छ।
धनकुटा नगरपालिका–५ स्थित कर्नर जोन होटलमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा थापालाई जिल्ला सभापतिमा चयन गरेको हो। नयाँ कार्यसमितिको उपसभापतिमा नारद कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिवमा सिराज जोशी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा फडिन्द्र थापा, प्रेमबहादुर कार्की, विमला गहतराज, मनोज खड्का र पुनम गिरी राणा रहेका छन्।
जिल्लामा पार्टीको संगठनात्मक आधार बलियो बनाउने, जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउने तथा सुशासन र विकासका एजेन्डालाई अघि बढाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन गरिएको रास्वपा नेता वालनन्द दाहालले जानकारी दिए ।नवनिर्वाचित सभापति थापाले रास्वपालाई जिल्लाका सबै स्थानीय तहसम्म विस्तार गर्ने, नागरिकका मुद्दालाई प्राथमिकताका साथ उठाउने र जिम्मेवार राजनीतिक अभ्यासमार्फत जनविश्वास अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
रास्वपाले धनकुटामा पहिलो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेसँगै आगामी राजनीतिक गतिविधि र संगठन विस्तार अभियानलाई तीव्रता दिने अपेक्षा गरिएको छ।