२८ बैशाख २०८३, सोमबार | Tue May 12 2026

Radio Khabar Palika

महालक्ष्मी नगरपालिकाद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा टनेल र प्लास्टिक पोखरी वितरण



२८ बैशाख, धनकुटा । कृषि उत्पादन वृद्धि तथा व्यावसायिक खेती विस्तार गर्ने उद्देश्यले धनकुटाको महालक्ष्मी नगरपालिकाले स्थानीय किसानलाई ५० प्रतिशत लागत साझेदारीमा टनेल र प्लास्टिक पोखरी वितरण गरेको छ।
कोशी प्रदेश सरकारको समानीकरण अनुदान अन्तर्गत प्राप्त बजेटमार्फत नगरपालिकाले ९ वटै वडाका ६२ जना किसानलाई कृषि सामग्री उपलब्ध गराएको हो। कार्यक्रमअन्तर्गत तरकारी खेती, नर्सरी व्यवस्थापन तथा सिँचाइ सुविधालाई लक्षित गर्दै टनेल र प्लास्टिक पोखरी वितरण गरिएको नगरपालिकाले जनाएको छ।
मूर्तिढुंगा, मारेक कटहरे, जितपुर, लेगुवा लगायत क्षेत्रका किसान लाभान्वित भएका छन्। कृषि सामग्री खरिद तथा वितरणमा किसान र नगरपालिकाको संयुक्त रूपमा करिब पाँच लाख रुपैयाँ लगानी रहेको बताइएको छ।
नगरप्रमुख ध्रुवराज रायमाझी ले किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्दै उत्पादन वृद्धि र आत्मनिर्भर कृषि प्रणाली विकास गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
टनेल प्रविधिबाट बेमौसमी तरकारी उत्पादन गर्न सहज हुने तथा प्लास्टिक पोखरीमार्फत वर्षायाममा संकलन गरिएको पानीलाई सुख्खा समयमा सिँचाइका लागि उपयोग गर्न सकिने नगरप्रमुख ध्रुवराज रायमाझीले जानकारी दिए। यसले खेतीयोग्य जमिनको उपयोग बढाउनुका साथै उत्पादन लागत घटाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।