२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

Radio Khabar Palika

तेलियामा वित्तीय साक्षरतासँगै च्याउ खेती तालिम, सहभागीलाई बीउसमेत वितरण गरिने



२७, बैशाख,धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ तेलियामा वित्तीय साक्षरता र उद्यमशीलता विकासलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिएको छ। गाउँपालिका र नविल बैकको सहकार्यमा आयोजना गरिएको कार्यक्रममार्फत स्थानीय किसान, युवा तथा स्वरोजगार बन्न चाहने व्यक्तिहरूलाई व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको हो। कार्यक्रममा सहभागीलाई बचत गर्ने तरिका, बैंकिङ सेवा उपयोग, लगानी व्यवस्थापन, वित्तीय योजना निर्माणलगायतका विषयमा जानकारी दिइएको थियो। यससँगै उद्यम सञ्चालनका आधारभूत पक्षबारे पनि प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

नविल बैक सिधुवा शाखाका प्रमुख निरञ्जन निरौलाले तालिमलाई व्यवहारिक र आयमुखी बनाइएको बताए। सहभागीलाई आधुनिक प्रविधिमार्फत च्याउ खेती गर्ने विधि, उत्पादन व्यवस्थापन तथा बजारसम्म पहुँच विस्तार गर्ने उपायबारे सिकाइने उनको भनाई छ । तालिमपछि च्याउ खेती सुरु गर्न आवश्यक बीउ र अन्य सामग्रीसमेत उपलब्ध गराइने निरौलाले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले स्थानीय तहले कृषि र साना उद्यम प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे। आधुनिक कृषि प्रणाली अपनाउन सके स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सकिने र च्याउ खेती गाउँका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्ने उनको भनाइ थियो। स्थानीय स्तरमा सीप र वित्तीय ज्ञान जोडेर स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।