२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

Radio Khabar Palika

धनकुटाका स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने तयारी, निजी क्षेत्रका सुझाव संकलन



२७ वैशाख,धनकुटा । धनकुटामा उत्पादन हुने स्थानीय वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले उद्योगी, व्यवसायी र निजी क्षेत्रसँग सुझाव संकलन गरेको छ।

परराष्ट्र मन्त्रालयको आर्थिक कूटनीति महाशाखाले धनकुटामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा स्थानीय उत्पादनको निर्यात, बजार विस्तार, लगानी भित्र्याउने सम्भावना तथा निर्यातका चुनौतीबारे छलफल गरिएको हो। कार्यक्रममा मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र उपसचिव खगराज पाण्डे सहभागी थिए। उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले धनकुटामा उत्पादित चिया, छुर्पी, एभोकाडो, अकबरे खुर्सानी, किनिमा, राँगाको सुकुटी तथा स्थानीय मदिरालाई गुणस्तरीय ब्रान्डिङसहित अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकिने बताए। उनले पर्यटन, होटल, होमस्टे तथा साना–मझौला उद्योगमा लगानी भित्र्याउन सके धनकुटाका उत्पादनले विदेशी बजारमा पहिचान बनाउन सक्ने धारणा राखे। “स्थानीय उत्पादनलाई आधुनिक प्याकेजिङ र ब्रान्डिङ गर्न सके निर्यातको ठूलो सम्भावना छ,” उनले भने। कार्यक्रममा बङ्गुर व्यवसाय सङ्घ धनकुटाका अध्यक्ष रुजन राईले कोशी प्रदेश बङ्गुर पालनका लागि उपयुक्त क्षेत्र भएकाले यहाँ उत्पादित बङ्गुर चीनसम्म निर्यात गर्न पहल गर्नुपर्ने बताए। उनका अनुसार त्यसले किसानको आयआर्जन बढाउन र ग्रामीण अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ। प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले स्थानीय निजी क्षेत्र र परराष्ट्र मन्त्रालयबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै स्थानीय उत्पादनलाई बजारसँग जोड्न सरकारी सहकार्य महत्वपूर्ण हुने बताए। मन्त्रालयका प्रतिनिधिहरूले नेपालका स्थानीय उत्पादनलाई द्विपक्षीय तथा त्रिपक्षीय व्यापारमार्फत अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने नीति सरकारको प्राथमिकतामा रहेको जानकारी दिएका थिए। स्थानीय तहबाट आएका सुझावलाई आगामी नीतिगत प्रक्रियामा समावेश गरिने मन्त्रालयले जनाएको छ।