
- धनकुटा बहुमुखी क्याम्पस मा राजनीतिक प्रभाव र कमजोर व्यवस्थापनका कारण विद्यार्थी संख्या निरन्तर घट्दै गएको छ भने कर्मचारी तथा प्राध्यापक संख्या तुलनात्मक रूपमा बढी देखिएको छ ।
- क्याम्पसमा करिब ५ लाख लागतमा निर्माण गरिएको अपाङ्गमैत्री शौचालय चार वर्षदेखि प्रयोगविहीन छ । शौचालयसम्म पुग्न सहज पहुँचमार्गसमेत नभएको र चाबीसमेत नखुल्ने अवस्थामा रहेको पाइएको छ ।
- अपाङ्गता विद्यार्थी सहायता केन्द्र, कम्प्युटर, डिस्प्ले मोनिटर लगायतका उपकरण पनि सञ्चालनविहीन छन् । दातृ निकायबाट आएका पूर्वाधार र सामग्री व्यवस्थापन अभावका कारण प्रयोगमा आउन नसक्दा क्याम्पसको शैक्षिक साख खस्किँदै गएको गुनासो सरोकारवालाको छ ।
२४ बैशाख, धनकुटा । कुनै समय पूर्वकै शैक्षिक गन्तव्य मानिने धनकुटा बहुमुखी क्याम्पस अहिले राजनीतिक प्रभाव, कमजोर व्यवस्थापन र प्रयोगविहीन संरचनाको बोझले थलिँदै गएको छ । बाहिरबाट आकर्षक देखिने क्याम्पसभित्र भने अव्यवस्था, निष्क्रिय पूर्वाधार र घट्दो विद्यार्थी संख्याले शैक्षिक संकट गहिरिँदै गएको देखिन्छ ।

एक समय विद्यार्थीको भीड लाग्ने क्याम्पसमा अहिले कक्षाकोठा सुनसानजस्तै छन् । विद्यार्थी संख्या हरेक वर्ष घटिरहेको छ । तर राजनीतिक पहुँचका आधारमा कर्मचारी तथा प्राध्यापक व्यवस्थापन हुँदा विद्यार्थीभन्दा जनशक्ति धेरै हुने अवस्था सिर्जना भएको छ । क्याम्पसभित्र निर्माण गरिएका कतिपय संरचना उपयोगभन्दा पनि “दातालाई देखाउन” बनाइएका जस्ता देखिन्छन् । यसको सबैभन्दा प्रतिनिधि उदाहरण हो चार वर्षअघि निर्माण गरिएको अपाङ्गमैत्री शौचालय ।
करिब ५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त शौचालय अहिलेसम्म प्रयोगमै आएको छैन । अझ विडम्बना त के भने, अपाङ्गमैत्री भनेर बनाइएको शौचालयसम्म पुग्न दर्जनौं सिँढी चढ्नुपर्छ । ह्विलचेयर प्रयोगकर्ताले सहज रूपमा पुग्ने पहुँचमार्गसमेत छैन ।

केही समयअघि सञ्चारकर्मीको टोली पुगेका बेला कर्मचारीले शौचालयको चाबीसमेत भेटाउन सकेनन् । अपाङ्गता विद्यार्थी सहायता केन्द्रका संयोजक केवलराम पराजुलीले चाबीको झुप्पा देखाउँदै भने, “चाबी त यहीँ हो जस्तो लाग्छ, खिया लागेर नखुलेको होला ।”
क्याम्पस प्रमुख होमबहादुर बस्नेतका अनुसार शौचालय निर्माणका लागि दातामार्फत बजेट आएको थियो । तर सञ्चालन, व्यवस्थापन र प्रयोगका विषयमा पर्याप्त योजना नै नबनाइएको देखिन्छ । उनले उपकरणको लागतसम्बन्धी विस्तृत जानकारीसमेत क्याम्पससँग नभएको स्वीकार गरे।
यता स्वतन्त्र विद्यार्थी युनियनका सभापति युवा तिमल्सिनाले अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्न नसक्ने भएपछि सबै विद्यार्थीलाई प्रयोग गर्न खुला गरिनुपर्ने प्रस्ताव राखिएको बताए । तर क्याम्पस प्रशासनले “यो परियोजनाको संरचना भएकाले चलाउन नमिल्ने” जवाफ दिँदै आएको उनको भनाइ छ ।

शौचालय मात्र होइन, चार वर्षअघि स्थापना गरिएको अपाङ्गता विद्यार्थी सहायता केन्द्र पनि सञ्चालनविहीन अवस्थामा छ । केन्द्रमा राखिएका कम्प्युटर, डिस्प्ले मोनिटर र अन्य विद्युतीय उपकरण धुलोले ढाकिएका छन् । प्रयोग नहुँदा बिग्रिने जोखिम भएपछि केही उपकरण प्रशासनिक काममै प्रयोग भइरहेको क्याम्पस प्रमुख बस्नेतको भनाई छ ।
दातृ निकायको सहयोगमा आएका पूर्वाधार र उपकरण व्यवस्थापन अभावका कारण प्रयोगमा आउन नसक्दा क्याम्पसमा “पूर्वाधार छ, उपयोग छैन” भन्ने अवस्था देखिएको छ । राजनीतिक हस्तक्षेप, कमजोर दीर्घकालीन योजना र जवाफदेहिताको अभावले धनकुटा क्याम्पसको शैक्षिक साख दिनप्रतिदिन खस्कँदै गएको सरोकारवालाको गुनासो छ । समयमै सुधारका प्रयास नथालिए ऐतिहासिक पहिचान बोकेको यो क्याम्पस केवल संरचनामा सीमित हुने खतरा बढ्दै गएको छ ।

