२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

Radio Khabar Palika

धनकुटा निर्माण व्यवसायी संघद्वारा सरकारलाई ज्ञापनपत्र




२२ वैशाख,धनकुटा । नेपाल निर्माण व्यवसायी संघ धनकुटाले वर्तमान आर्थिक तथा बजार परिस्थितिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ। संघले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाउँदै निर्माण उद्योगलाई संरक्षण र सहजीकरणका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको हो।
ज्ञापनपत्रमा पछिल्लो समय डिजेल, पेट्रोल, बिटुमिन लगायत निर्माण सामग्रीको मूल्यमा भएको अत्यधिक वृद्धि तथा आपूर्ति अस्थिरताका कारण निर्माण लागत अनियन्त्रित रूपमा बढेको उल्लेख गरिएको छ। मूल्य वृद्धि अनुसार सरकारी निकायले मूल्य समायोजन नगर्दा व्यवसायीहरू आर्थिक रूपमा मारमा परेको संघको भनाइ छ।
संघले राष्ट्र बैंकको मूल्य सूचकांक (Price Index) ले वास्तविक बजार मूल्यलाई समेट्न नसकेको भन्दै त्यसको सुधार आवश्यक रहेको जनाएको छ। साथै, निर्माण कार्यहरू समयमै सम्पन्न गर्न र विकास आयोजनाहरूलाई गति दिन निर्माण उद्योगलाई ‘आकस्मिक क्षेत्र’ घोषणा गरी विशेष राहत प्याकेज ल्याउन पनि माग गरिएको निर्माण व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष प्रकाश थुलुङले जानकारी दिनुभयो।
त्यसैगरी, सार्वजनिक खरिद नियमावलीअनुसार मूल्य समायोजन प्रक्रियालाई सरल र व्यवहारिक बनाउन, स्थानीय स्तरमा देखिएका कानुनी जटिलता हटाउन तथा निर्माण सामग्री ढुवानी र मेसिन प्रयोगमा देखिएका अवरोध हटाउन पनि संघले जोड दिएको छ।
संघका अनुसार हालको परिस्थितिमा निर्माण व्यवसायीहरू कानुनी दायराभन्दा बाहिरको चुनौतीपूर्ण अवस्थामा काम गर्न बाध्य भएका छन्। यस्तो अवस्था कायम रहे विकास निर्माणका कामहरू प्रभावित भई समग्र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने चेतावनी दिइएको छ।
ज्ञापनपत्रमा संघका महासचिव मनोज कुमार राई र अध्यक्ष प्रकाश कुमार (खुलुङ) राईको हस्ताक्षर रहेको छ। साथै, उक्त ज्ञापनपत्रको प्रतिलिपि स्थानीय तहहरू, नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौं तथा कोशी प्रदेश कार्यालय, विराटनगरमा पनि पठाइएको अध्यक्ष थुलुङले जानकारी दिनुभयो।
संघले आफ्ना मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न सरकारसँग जोडदार आग्रह गरेको छ।