
२० बैशाख धनकुटा । सिन्धुलीमा प्रहरी हिरासतभित्र दलित युवाको मृत्यु भएको घटनालाई लिएर धनकुटामा दलित समुदाय आन्दोलित बनेको छ। घटनालाई लिएर राज्य संयन्त्रप्रति अविश्वास बढ्दै गएको संकेत गर्दै धनकुटाका दलित संघ–संस्थाहरूले विरोध प्रदर्शनमार्फत कडा सन्देश दिएका छन्।
संयुक्त दलित सङ्घर्ष समिति धनकुटाको आयोजनामा सदरमुकामस्थित मदन चोकमा आयोजित कोणसभा विरोधमा सीमित नभई न्याय र जवाफदेहिताको मागसहित राज्यको भूमिकामाथि प्रश्न उठाउने थलो बनेको थियो। प्रदर्शनकारीहरूले सिन्धुलीका श्रीकृष्ण विश्वकर्माको हिरासतमा भएको मृत्युलाई गम्भीर मानवअधिकार उल्लंघनको रूपमा व्याख्या गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।कार्यक्रममा बोल्दै दलित मुक्ति संगठनका केन्द्रीय उपमहासचिव गोपाल बराइलीले सुरक्षाकर्मीको नियन्त्रणमै नागरिकको ज्यान जानु राज्यकै जिम्मेवारीको विषय भएको उल्लेख गर्दै सत्य तथ्य लुकाउने प्रयास भए त्यसले झनै द्वन्द्व निम्त्याउने चेतावनी दिए। नेपाल दलित सङ्घकी केन्द्रीय सदस्य अम्बिका परियार, मुक्ति समाज नेपाल धनकुटाका अध्यक्ष मानबहादुर विश्वकर्मा तथा अधिकारकर्मी रवीन्द्र नेपालीले पछिल्ला घटनाक्रमले दलित समुदायमाथि हुने संरचनागत विभेद अझै ज्यूँका त्यूँ रहेको देखाएको आरोप लगाए। उनीहरूले प्रहरी हिरासतमा हुने मृत्युका घटनाहरू दोहोरिनु कानुनी शासनकै कमजोरी भएको जिकिर गर्दै तत्काल सुधारात्मक कदम चाल्न सरकारसँग माग गरे। वक्ताहरूले दोषीमाथि कडा कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति र दलित समुदायको सुरक्षा सुनिश्चित गर्नुपर्ने माग दोहोर्याए। साथै, यस्ता घटनाले समाजमा असुरक्षा र अविश्वास बढाउने भएकाले राज्य संवेदनशील बन्नुपर्नेमा जोड दिइयो। उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलसम्बद्ध संगठन, दलित अधिकारकर्मी तथा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो। यसअघि दलित संघ–संस्थाहरूले प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्कामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै घटनाको न्यायिक छानबिन, दोषीमाथि कारबाही, पीडितलाई क्षतिपूर्ति र भविष्यमा यस्ता घटना रोक्न प्रभावकारी नीतिगत हस्तक्षेपको माग गरिसकेका छन्।

