११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

Radio Khabar Palika

सेवा प्रवाहमा लापरबाहीमाथि प्रशासन कडा M तीन सरकारी कार्यालयसँग स्पष्टीकरण माग



११ बैशाख, धनकुटा । सेवा प्रवाहमा कमजोरी र सेवाग्राहीबाट निरन्तर गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाका तीन सरकारी कार्यालयमाथि निगरानी बढाउँदै लिखित स्पष्टीकरण मागेको छ। प्रशासनले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय र सडक डिभिजन कार्यालयलाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको हो। जिल्ला प्रशासनले यो कदम सेवा प्रवाह सुधार र सरकारी कार्यालयको जवाफदेहिता बढाउने प्रयासका रूपमा अघि सारेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीका अनुसार वैशाख १० गते बसेको जिल्ला स्थित कार्यालय प्रमुखहरूको बैठकले सेवाग्राही गुनासा र कार्यसम्पादन अवस्थाका आधारमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। प्रशासनका अनुसार सम्बन्धित कार्यालयमा टेलिफोन नउठ्ने, कार्यालय समयमा कर्मचारीको उपस्थिति कमजोर रहने तथा कार्यसम्पादन मूल्याङ्कन अपेक्षाकृत कम देखिएको पाइएको छ। यिनै विषयलाई आधार बनाएर प्रशासनले औपचारिक रूपमा जवाफ मागेको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।
प्रशासनको यो कदमले जिल्लाका अन्य सरकारी कार्यालयलाई समेत सेवा प्रवाहप्रति थप जिम्मेवार बन्न सन्देश दिएको छ। स्पष्टीकरणपछि आवश्यक सुधार, निर्देशन वा थप कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए ।