१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

Radio Khabar Palika

राजारानी फेरि फुटबलमय बन्दै, वैशाख १८ देखि रारा रनिङ गोल्डकप हुने



१० वैशाख, धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकास्थित राजारानी फेरि फुटबलमय बन्ने भएको छ । जिल्लाकै प्रतिष्ठित प्रतियोगिता मानिने १३औँ रारा रनिङ गोल्डकप वैशाख १८ देखि २२ गतेसम्म सञ्चालन हुने भएको छ। आयोजक रारा फुटबल क्लबले बिहीबार रानी ताल परिसरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।
यसपटक प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन पुरानै पुरस्कार राशीलाई निरन्तरता दिइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विजेता टोलीले ७ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।जस अन्तरगत सर्वोत्कृष्ट खेलाडीले २५ हजार, उत्कृष्ट गोलकिपरले १० हजार, उदयीमान खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ताले १० हजार रुपैयाँ र हरेक खेलको म्यान अफ दी म्याचलाई ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिए ।

राजारानीस्थित पुण्य माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक रारा फुटबल क्लबसहित आठ टिम सहभागी हुने आयोजकले जनाएको छ । जसमा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड क्लब उदयपुर, डाडाँबजार फुटबल क्लब धनकुटा, सलहेस युथ क्लब सिराहा, बिर्तामोड युनाइटेड क्लब झापा, आरआइ एफसी काठमाडौं र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा आयोजक क्लबका सचिब जीवन कटुवालले दिए ।


आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि ३६ लाख ३२ हजार ५ सय रुपैयाँ खर्च अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य आधार स्थानीय सहयोग र साझेदारी बनेको छ, जसमा चौबिसे गाउँपालिकाले १४ लाख रुपैयाँ सहयोग गरेको छ। यसले स्थानीय सरकार खेलकुद प्रवर्द्धनमा जोडिएको संकेत पनि दिएको छ। रारा गोल्डकप प्रतियोगिता मात्र नभई पूर्वी पहाडको फुटबल संस्कृतिसँग जोडिएको पहिचानका रूपमा स्थापित हुँदै आएको प्रतियोगिता भएको क्लवका अध्यक्ष मणि चेम्जोङले बताए । २०५८ सालदेखि सञ्चालन हुँदै आएको प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्नुका साथै बाहिरी क्लबहरूलाई पनि राजारानीसम्म आकर्षित गर्दै आएको छ। अघिल्लो १२औँ संस्करणको उपाधि झापाको बिर्तामोड युनाइटेड क्लबले जितेको थियो भने १०औँ र ११औँ संस्करणमा सिराहाको सलहेश युथ क्लब च्याम्पियन बनेको थियो। यसपटक उपाधि कसले उचाल्छ भन्ने चासो बढेको छ। आयोजकले प्रतियोगितालाई खेलसँगै पर्यटन र स्थानीय आर्थिक गतिविधिसँग समेत जोडेको जनाएको छ । रानी ताल क्षेत्र आसपास दर्शक चहलपहल बढ्ने र राजारानीको प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष चेम्जोङले बताए ।