१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

Radio Khabar Palika

ओलीको रिहाईको माग गर्दै एमाले धनकुटाले पनि पठायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र



१५ चैत्र, धनकुटा । नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओलीको रिहाईको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएका छन् । ओलीको रिहाइको माग गर्दै एमाले जिल्ला कमिटी धनकुटाले पनि जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई शनिबार निवासबाटै प्रह्रीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । सोही अनुसार जिल्ला कमिटी धनकुटाले पनि प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको एमाले धनकुटा पाटी सचिव पर्शुराम नेपालले जानकारी दिए ।
ज्ञापन पत्रमा हालै सरकारद्वारा गठन गरिएको कथित छानबिन आयोगको प्रतिवेदनलाई आधार बनाएर गरिएको राजनीतिक गतिविधि र त्यसका आधारमा भएका पक्राउ प्रति गम्भीर असहमति जनाइएको छ। एमालेले उक्त प्रतिवेदन अपूर्ण, पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको दाबी गर्दै त्यसका आधारमा गरिएको कारबाही लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको उल्लेख गरेको छ। पार्टीले विशेषगरी पूर्वप्रधानमन्त्री ओलीलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको आरोप लगाउँदै तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ। साथै, आन्दोलनका क्रममा भएका गतिविधिहरूलाई अपराधीकरण गरिएको भन्दै त्यसप्रति पनि विरोध जनाएको छ। पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी.शर्मा ओलीलगायतलाई गैरकानुनी रूपमा गिरफ्तार गरिएको भन्दै तत्काल रिहाइ गर्न तथा झुटा मुद्दा फिर्ता लिन माग गरिएको छ। यस्ता प्रतिशोधपूर्ण कार्य तत्काल बन्द गर्न पनि सरकारलाई आग्रह गरिएको सचिव नेपालले जानकारी दिए । एमाले धनकुटाका अध्यक्ष शिव आङ्गला लिम्बूको हस्ताक्षरमा जारी उक्त ज्ञापन पत्रमार्फत पार्टीले लोकतान्त्रिक अधिकारको संरक्षण गर्न सरकारसँग आग्रह गरेको छ। ज्ञापन पत्रमा छानबिन आयोगले पेश गरेको प्रतिवेदनलाई खारेज गर्न, निष्पक्ष छानबिनका लागि अधिकार सम्पन्न स्वतन्त्र आयोग गठन गर्न र राजनीतिक प्रतिशोधका कार्य तुरुन्त बन्द गर्न माग गरिएको छ। एमाले पाटी कार्यालयमा भेला भएका नेता तथा कार्याकर्ताले विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका थिए ।