१० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026

Radio Khabar Palika

विश्रान्ति मन्दिर व्यवस्थापन समितिको १८औँ साधारण सभा सम्पन्न



१० चैत, धनकुटा । विश्रान्ति मन्दिर व्यवस्थापन समिति, धनकुटा–मूलघाटको १८औँ साधारण सभा सम्पन्न भएको छ। करिब २ हजार ५ सय आजीवन सदस्य आबद्ध रहेको समितिको सभामा महासचिव जनार्दन घिमिरेले आर्थिक वर्ष २०८१र०८२ सहित पछिल्ला चार वर्षको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे । यस्तै, कोषाध्यक्ष विकास प्रधानले संस्थाको आम्दानी तथा खर्च विवरणसहितको आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

हाल समितिले ४० भन्दा बढी ज्येष्ठ नागरिकको संरक्षण तथा भरणपोषण गर्दै आएको छ भने ३५ भन्दा बढी बटुकलाई गुरुकुल प्रणालीमार्फत कक्षा ६ देखि ९ सम्म शिक्षा प्रदान गरिरहेको जानकारी दिइएको छ। साथै ‘विश्रान्ति आमा कार्यक्रम’ अन्तर्गत ९ सय सदस्य आबद्ध रहेको महासचिव घिमिरेले बताए। गणपूरक संख्या नपुगेपछि दोस्रो पटक साधारण सभा आयोजना गर्नुपरेको पनि उनले जानकारी दिए ।

कार्यक्रमकै अवसरमा समितिका अध्यक्ष शारदाप्रसाद मिश्रद्वारा लिखित ‘कथाकुञ्ज’ पुस्तक लोकार्पण गरिएको थियो। त्यसैगरी, कर्मचारी सञ्चयकोष धनकुटाले सामाजिक उत्तरदायित्व अन्तर्गत मन्दिरमा आश्रित ज्येष्ठ नागरिकहरूको सहयोगार्थ १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी, स्वामी विजयानन्द सरस्वती, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा आजीवन सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त अवसरमा वक्ताहरूले विश्रान्ति मन्दिरले ज्येष्ठ नागरिक संरक्षण तथा सेवा क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा काम गर्न सुझाव दिएका थिए।