
कार्यालय परिसरभित्र बिक्री–वितरण र सेवन निषेध, सबै शाखा र वडा कार्यालयलाई कडाइका साथ पालना गर्न निर्देशन
२८ फागुन, धनकुटा । महालक्ष्मी नगरपालिका ले आफ्नो कार्यालय परिसरभित्र धूम्रपान तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र उपभोग पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ।
महालक्ष्मी नगर कार्यपालिका को बैठकले उक्त निर्णय गरेपछि नगर कार्यपालिकाको कार्यालयबाट पत्र जारी गर्दै निर्णय कार्यान्वयन गर्न सम्बन्धित शाखा, उपशाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको हो। नगरपालिकाले जारी गरेको पत्रअनुसार नगर कार्यपालिकाको कार्यालय, कार्यालय परिसर तथा नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका सबै कार्यालय र कार्यालय परिसरमा धूम्रपान गर्न तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र सेवन गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ।नगरपालिकाले उक्त निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै शाखा, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई आवश्यक सहयोग गर्न र निर्णयको पालना गर्न आग्रह गरेको छ। यो निर्णयबारे प्रमुख प्रशासकीय अधिकृत प्रयास भट्टराईले हस्ताक्षर गरेको पत्रमार्फत सम्बन्धित सबै निकायलाई जानकारी गराइएको छ।







