
९ फागुन,धनकुटा । मानवसेवा आश्रमद्वारा सञ्चालित ‘कोशी प्रदेश उद्धार यात्रा’को सातौँ दिन शुक्रबार धनकुटाका विभिन्न स्थानबाट तीन जना बेवारिसे व्यक्तिको उद्धार गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटाको समन्वय तथा जिल्ला प्रहरी कार्यालय धनकुटाको सहयोगमा ती बेवारिसे व्यक्तिको उद्धार, गरि मानव सेवा आश्रम सुनसरी पठाइएको नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले जानकारी दिए । उद्धार हुनेमा धनकुटास्थित मदनचोक क्षेत्रबाट लामो समयदेखि सडकपेटीमा अलपत्र अवस्थामा रहेका ३५ बर्षिय अमृत भनिने एकजनालाई आश्रम पठाईएको उनले जानकारी दिए । त्यसैगरी, धनकुटाबाट नै साहिल’ नाम बताउने ३६ वर्षका अर्का एक पुरुष र धनकुटा नगरपालिका–६ स्थित सडकपेटीमा बेवारिसे अवस्थामा जीवनयापन गर्दै आएका ५२ वर्षीय भीमप्रसाद अधिकारीलाई उद्धार गरी सुरक्षित रुपमा मानवसेवा आश्रम पठाइएको उनले जानकारी दिए । मानसिक रूपमा कमजोर देखिएका तीनै जनाको पारिवारिक पृष्ठभूमि खुल्न सकेको छैन । उनीहरूको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचारको व्यवस्था गरी सुरक्षित संरक्षणमा राखिएको तथा पारिवारिक पुनर्मिलनका लागि आवश्यक पहल गरिने आश्रमले जनाएको छ । मानवसेवा आश्रमले फागुन ३ गतेदेखि सुरु गरेको कोशी प्रदेशस्तरीय सहयोगापेक्षी सडकआश्रितहरूको उद्धार यात्रा फागुन १६ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ । आश्रमले उद्धार यात्राअन्तर्गत कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर खुला सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य निरन्तर जारी राखेको जनाएको छ ।







