२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025

Radio Khabar Palika

धनकुटाको विश्रान्ति मन्दिरमा शिव महापुराण सुरु



धनकुटा, फागुन ४ – धनकुटाको मूलघाटमा अवस्थित विश्रान्ति मन्दिरमा आजदेखि शिव महापुराण प्रारम्भ भएको छ। धार्मिक उत्साहका साथ सुरु गरिएको यस महापुराणको उद्घाटन परम आदरणीय जगतगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहन शरण देउवाचार्य महाराज श्रीले गर्नुभएको थियो।


शिव महापुराण सुरु हुनुअघि धनकुटा बजारमा भव्य कलश शोभा यात्रा निकालिएको थियो। शोभा यात्रा नर्मदेश्वर मन्दिरको प्राङ्गणबाट सुरु भई धनकुटा बजारका विभिन्न स्थानहरू परिक्रमा गर्दै विश्रान्ति मन्दिरमा पुगेको थियो। भक्तजनहरूको ठूलो उपस्थिति रहेको यस शोभा यात्राले सम्पूर्ण बजारलाई धार्मिक वातावरणमा रंगाएको थियो। विश्रान्ति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शारदाप्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वामी विजायनन्द सरस्वती, धनकुटा नगरपालिकाका नगरप्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल लगायत विभिन्न महानुभावहरू तथा भक्तजनहरुको को उपस्थिति रहेको थियो।

शिव महापुराणका फागुन १४ गते सम्म चल्नेछ, जसमा भक्तजनहरूले धार्मिक ज्ञान ग्रहण गर्न तथा शिव महिमा श्रवण गर्न सक्नेछन्। आयोजक समितिले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महापुराणमा सहभागी भई धार्मिक लाभ लिन आग्रह समेत गरेको छ।