
१ माघ ,धनकुटा । धनकुटाको चौबिसे गाँउपालिकामा सम्पन्न दोस्रो त्रिवेणी कप पुरुष भलिवल प्रतियोगिताको उपाधि नेपाल प्रहरीको रानी विराटनगरले उचालेको छ । चौबिसे गाउँपालिका वडा नं. ४ र ५ को संगमस्थल हंसमोरङमा मंगलबार सम्पन्न फाइनल खेलमा नेपाल प्रहरीको रानी विराटनगरले कोशी प्रदेश टे«निङ सेन्टरलाई पराजित गर्दै उपाधि उचालेकोे हो। फाइनल खेलमा प्रहरीले लाई सेन्टरलाई २६–२४, २५–२२ र २५–२३ को सोझो सेटमा हराउदै उपाधि आफनो पोल्टामा पारेको हो। विजेता नेपाल प्रहरी रानी विराटनगरले उपाधिसँगै नगद एक लाख बाइस हजार दुइ सय २२ रुपैया हात पारेको छ भने उपबिजेता कोशी प्रदेश टे«निङ सेन्टरले ६६ हजार छ सय ६६ रुपैयाँमा चित्त बुझाएको छ।
कोशी प्रदेशका ८ टीमको सहभागीता रहेको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि प्रहरीका बालकुमार रायमाझी घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँ हात पारे। यस्तै उत्कृष्ट स्पाइकर कोशी टे«निङ सेन्टरका रोशन श्रेष्ठ, उत्कृष्ट सटर कोशी टे«निङ सेन्टरका मनोज घिमिरे, उत्कृष्ट ब्लकरमा प्रहरीका अम्बिका खत्री, उत्कृष्ट डिफेन्स प्रहरीका युगल मगर घोषित भए। उनीहरुले जनही नगद २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ। विजयी खेलाडिहरुलाई पूर्वमन्त्री तथा प्रतिनिधीसभा सदस्य राजेन्द्रकुमार राई, चौबिसे गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङ लगायतले पुरस्कार वितरण गरेका थिए। गत वर्ष देखि सुरु भएको प्रतियोगिताको यो पटक दोस्रो संस्करण त्रिवेणी खेलकुद विकास समितिको आयोजनामा भएको हो।
नेपाल प्रहरीको रानी विराटनगरले शसस्त्र प्रहरी बल पकलीलाई र कोशी प्रदेश टे«निङ सेन्टरले बेलबारीलाई हराउँदै फाइनलमा पुगेका हुन। प्रतियोगितामा आयोजक त्रिवेणी खेलकुद विकास समिति, गुन्याहाङ तमु समाज मकालु संखुवासभा, तमोर करोडोर स्पोटिङ, र केराबारी मोरङको पनि सहभागिता रहेको खेल आयोजक समितिका संयोजक रोशन भण्डारीले जानकारी दिए।