२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

Radio Khabar Palika

धनकुटामा चाडपर्व लक्षित सुरक्षा र यातायात व्यवस्थापन कडाइ गरिने



२२ असोज, धनकुटा । चाडपर्वको समयमा धनकुटामा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध कारोबार तथा सडक दुर्घटना नियन्त्रणका लागि सुरक्षा र यातायात व्यवस्थापनलाई कडाइ गर्ने निर्णय गरिएको छ।
चाडपर्वका बेला शहरी क्षेत्रबाट हुने सर्वसाधारणको ठूलो आवतजावतलाई मध्यनजर गर्दै राजमार्ग तथा मुख्य सडकमा सुरक्षा गस्ती बढाउने र चोरी, लुटपाट तथा डकैतीजस्ता अवाञ्छित गतिविधि नियन्त्रण गर्न भरपर्दो सुरक्षा व्यवस्था मिलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन ।


त्यस्तै चाडपर्व तथा धार्मिक कार्यक्रम सञ्चालन गर्दा एकअर्काको मूल्य, मान्यता र संस्कृतिको सम्मान गर्दै सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिइएको उनले जानकारी दिईन । गैरकानुनी चिठ्ठा, जुवातास, अनलाइन सट्टेबाजी तथा विद्युतीय माध्यमबाट हुने ठगी नियन्त्रणका लागि निगरानी बढाउने र सर्वसाधारणलाई सचेत गराउने निर्णय समेत गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिईन ।
चाडपर्वमा पटाका, आतसबाजी लगायतका विस्फोटक तथा निषेधित वस्तुको अवैध आयात, ओसारपसार, बिक्री–वितरण र प्रयोगमा रोक लगाउने निर्णयसमेत गरिएको छ। सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्यलाई प्रहरीले चेकजाँच गरी कडाइ गर्नेछ।


बैंक, वित्तीय संस्था तथा एटीएममा २४ घण्टा सुरक्षा व्यवस्था मिलाउने, एटीएममा पर्याप्त नगदको व्यवस्था गर्न बैंकसँग समन्वय गर्ने तथा डिजिटल वित्तीय अपराध नियन्त्रणमा विशेष निगरानी बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिईन ।
चाडपर्वका बेला खाद्यान्न, पेट्रोलियम पदार्थ र एलपीजी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सम्बन्धित व्यवसायीलाई आग्रह गर्ने तथा बजारमा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन नियमित अनुगमन गर्ने निर्णय गरिएको छ। खाद्यान्न, मिठाई, मासु तथा दुग्धजन्य पदार्थको गुणस्तर, उपभोग्य मिति र स्वच्छतासमेत अनुगमन गरिने भएको छ । राजमार्गमा सञ्चालित होटल तथा रेस्टुरेन्टमा खानाको गुणस्तर, सरसफाइ र शौचालयको उचित व्यवस्थापनमा ध्यान दिन व्यवसायीलाई निर्देशन दिने र अनुगमन टोलीमार्फत निरीक्षण गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिईन । यातायाततर्फ यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुल्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा तीव्र गतिमा सवारी चलाउने कार्य रोक्न राजमार्गमा कडाइका साथ चेकजाँच गरिने भएको छ। लामो दूरीका सवारीमा दुई जना चालक राख्ने व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गराउन यातायात व्यवसायीलाई निर्देशन दिइएको छ । बसपार्क तथा प्रमुख चोकमा नेपाल प्रहरी र ट्राफिक प्रहरीले ‘यात्री सहायता कक्ष’ सञ्चालन गर्ने, यातायात व्यवसायीमार्फत यात्रुको प्रस्थान बिन्दु र गन्तव्यसम्बन्धी अद्यावधिक विवरण नजिकको प्रहरी युनिटमा उपलब्ध गराउने निर्णय गरिएको छ। जिल्लामा सञ्चालित टेम्पोको दर्ता, नियमन तथा भाडादरका विषयमा स्थानीय तहलाई उचित व्यवस्थापन गर्न अनुरोध गर्ने, चालक तथा सहचालकलाई यात्रुमैत्री व्यवहारका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र चालक, सहचालक तथा यात्रुका लागि आचारसंहिता बनाई लागू गर्ने निर्णयसमेत गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिईन । मनसुनका कारण क्षतिग्रस्त सडक तत्काल मर्मत–सम्भार गरी यातायात आवागमन सहज बनाउन संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित कार्यालयलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिने भएको छ। सार्वजनिक यातायातका साधनमा तोकिएको भाडादर टाँस गर्ने व्यवस्था यातायात व्यवसायीले मिलाउनुपर्ने निर्णय गरिएको छ। चाडपर्वलाई सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन सुरक्षा निकाय, स्थानीय तह, यातायात व्यवसायी, बजार अनुगमन निकाय तथा सम्बन्धित सरोकारवालाबीच समन्वय र निगरानी बढाइने भएको उदोग बाणिज्य संघ धनकुटाका अध्यक्ष राम बहादुर रायामाझीले जानकारी दिए ।