१७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026

Radio Khabar Palika

दशैं नजिकिएसँगै धनकुटाका हाटबजारमा बढ्यो खसीबोका र पशुपक्षीको किनबेच



१७ असोज, धनकुटा । दशैंको घटस्थापना आउन करिब आठ दिन बाँकी रहँदा धनकुटाका साप्ताहिक हाटबजारमा खसीबोका, कुखुरा र सुँगुरको किनबेच बढ्न थालेको छ। चाडपर्वका लागि खर्च जुटाउन किसानले वर्षभरि पालेका पशुपक्षी बिक्रीका लागि हाटबजारमा ल्याउन थालेका छन् भने दशैंका लागि खसीबोका खरिद गर्ने उपभोक्ताको चहलपहल पनि बढ्दै गएको छ।
दशैंलाई लक्षित गर्दै जिल्लाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक तथा पाक्षिक हाटबजारमा पशुपक्षीको किनबेच बढ्न थालेको हो। धनकुटा बजारमा बिहीबार, सिधुवामा बुधबार तथा आँखिसल्ला र छिन्ताङमा पनि बुधबार हाटबजार लाग्ने गर्छ। यी बजारमा स्थानीय किसानले खसीबोका, कुखुरा र सुँगुर बिक्रीका लागि ल्याउने गरेका छन्।

किसानका लागि दशैंमा पशुपक्षी बिक्री गर्नु घरखर्च जुटाउने महत्वपूर्ण माध्यम बनेको छ। वर्षभरि दुःख गरेर पालेका पशुपक्षी चाडपर्वको समयमा बिक्री गरी घरायसी आवश्यकता पूरा गर्ने, बालबालिकाको पढाइ खर्च जुटाउने तथा दशैं मनाउने खर्चको जोहो गर्ने गरेका छन्।हाटबजारमा किसान र उपभोक्ताबीच प्रत्यक्ष किनबेच हुने भएकाले दशैं नजिकिँदै जाँदा बजारमा चहलपहल थपिने गरेको छ। स्थानीयस्तरमै उत्पादित पशुपक्षी बिक्री हुने भएकाले हाटबजार किसानका लागि आम्दानीको अवसरसमेत बनेको छ। यसैबीच, धनकुटामा खसीबोकाको मासुको मूल्य प्रतिकिलो ९ सयदेखि १ हजार १ सय रुपैयाँसम्म रहेको मासु व्यवसायी सङ्घ धनकुटाका अध्यक्ष मिलन खड्गीले बताए। दशैं नजिकिँदै जाँदा खसीबोकाको माग अझ बढ्ने व्यवसायीहरूको अनुमान छ। दशैंमा मासुको खपत बढ्ने भएकाले आगामी दिनमा खसीबोकाको कारोबार थप बढ्ने अपेक्षा गरिएको छ। चाडपर्वको समयमा उपभोक्ताको माग बढेसँगै पशुपक्षी बिक्रीबाट किसानले राम्रो आम्दानी गर्ने अवसरसमेत पाउने गरेका छन्।

यसरी दशैं नजिकिएसँगै धनकुटाका हाटबजारमा बढेको पशुपक्षीको किनबेचले चाडपर्वको रौनकसँगै ग्रामीण अर्थतन्त्रमा हुने आर्थिक गतिविधिलाई पनि चलायमान बनाउन थालेको छ।