
१६ असोज,धनकुटा । धनकुटामा कुकुरको टोकाइका घटना बढ्दै गएपछि धनकुटा नगरपालिकाले सामुदायिक कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सुरु गरेको छ।
आर्थिक वर्ष २०८२।०८३ मा कुकुरको टोकाइपछि रेबिजविरुद्धको उपचारका लागि ४ सय ६४ जना जिल्ला अस्पताल धनकुटा पुगेका थिए। चालु आर्थिक वर्ष २०८३।०८४ को साउनमा ५४ जना र भदौमा ६० जना गरी दुई महिनामा १ सय १४ जना उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी यज्ञमणि खतिवडाले जानकारी दिए । सामुदायिक कुकुरका कारण पैदलयात्री, स्कुले बालबालिका, यात्रु तथा शारीरिक अभ्यासका लागि घरबाहिर निस्कने नागरिकलाई समस्या हुन थालेपछि नगरपालिकाले कुकुर व्यवस्थापन अभियान सञ्चालन गरेको हो।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनकुटाको सहयोगमा त्रिवेणीस्थित केन्द्रको परिसरमा शिविर सञ्चालन गरिएको छ। शिविरमार्फत सामुदायिक कुकुरलाई रेबिजविरुद्धको खोप लगाउनुका साथै घाइते, अपाङ्गता भएका तथा अंगभंग भएका कुकुरको उपचार गरिने नगरपालिकाले जनाएको छ। शल्यक्रिया आवश्यक पर्ने कुकुरको पशु चिकित्सकको सहयोगमा शल्यक्रिया गरी उपचारसमेत गरिनेछ। अभियानअन्तर्गत सामुदायिक कुकुरको सङ्ख्या नियन्त्रण गर्न बन्ध्याकरण गर्ने तथा रेबिज सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको हो। घरपालुवा कुकुरलाई समेत निश्चित शुल्क लिएर खोप तथा उपचारको व्यवस्था मिलाइएको छ। अभियान सञ्चालनका लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र, धनकुटा नगरपालिका र धरानबाट पशु चिकित्सकको टोली परिचालन गरिएको नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले जानकारी दिए ।
कुकुरको टोकाइका घटना बढिरहेको अवस्थामा सामुदायिक कुकुरको व्यवस्थापन, खोप तथा उपचार सेवालाई प्रभावकारी बनाउन अभियानले सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ।


