१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

Radio Khabar Palika

धनकुटा कांग्रेस सभापति दिनेश राई सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित



१३ असोज, धनकुटा । नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका छन । खुला पुरुषतर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा राईले ७ सय ५६ मत प्राप्त गर्दै सबैभन्दा बढी मतसहित विजयी भएका हुन । निर्वाचनमा कुल ९ सय ८३ मत खसेको थियो ।

खुला पुरुषतर्फ १४ जनाको उम्मेदवारी परेको थियो। पार्टी सचिव विजय सन्तोषी राईले दोस्रो मत प्राप्त गरे । उनले ७ सय १९ मत पाएका थिए । त्यस्तै पूर्वसभापतिहरू मनोहरनारायण श्रेष्ठले ६ सय ६९ मत तथा अग्निप्रसाद पौडेलले ४ सय ७४ र हरिकुमार राई ५ सय ६४ मत प्राप्त गरेका थिए । नेताहरू सिद्धार्थ थापा, निर्मल ओझा, नवीनकिशोर शाक्य, ध्रुवराज राय र ज्ञानबहादुर गुरुङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका भएको निर्वाचन अधिकृत रमेस दाहालले जानकारी दिए ।

यसैगरी नेपाल विद्यार्थी संघकी केन्दिय सभापति करुणा कटुवाल पनि युवा खुलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन । युवा खुलातर्फ दुई पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो। कुल ९ सय ८३ मत खसेकोमा कटुवालले ६ सय ९० मत प्राप्त गर्दै सबैभन्दा बढी मतसहित विजयी भईन । सोही क्लस्टरबाट गोविन्द लिम्बु ३ सय ५ मत प्राप्त गरी निर्वाचित भए । धनकुटाबाट कांग्रेसको महाधिवेशनका लागि कुल ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन्। तीमध्ये १२ जना निर्विरोध चयन भएका थिए भने २१ जना निर्वाचन प्रक्रियाबाट चयन भएका हुन्।

महिला, समानुपातिक खस आर्य महिला, युवा महिला, दलित, प्रजातन्त्र सेनानी, समानुपातिक महिला तथा समानुपातिक आदिवासी जनजाति महिला क्लस्टरबाट प्रतिनिधिहरू निर्विरोध चयन भएका छन्। खुला, श्रमिक, पेसागत, अपाङ्गता, अल्पसंख्यक, युवा खुला, समानुपातिक आदिवासी जनजाति र समानुपातिक खस आर्य क्लस्टरमा भने निर्वाचन भएको कांग्रेस धनकुटाका सभापति राईले बताए । यसैबीच कांग्रेस धनकुटाले निर्वाचन क्षेत्र ‘क’ र ‘ख’बाट २२।२२ जना गरी ४४ जना प्रदेश महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन । प्रदेश ‘क’मा नेपालधन राईको नेतृत्वमा नयाँ क्षेत्रीय समिति निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत रमेश दाहालले जानकारी दिए। प्रदेश ‘ख’मा भने निर्वाचनमार्फत प्रेम भण्डारीको नेतृत्वमा नयाँ क्षेत्रीय समिति चयन भएको छ।