७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

Radio Khabar Palika

धनकुटा नगरपािलकालाइ जलाधार व्यवस्थापन अभ्यासमा अन्तर्राष्ट्रिय सम्मान



७ असोज, धनकुटा । स्थानीय समुदायको सहभागितामा जलाधार संरक्षण, वातावरणीय व्यवस्थापन र जलवायु अनुकूलनका लागि धनकुटामा हुँदै आएको अभ्यास अन्तर्राष्ट्रियस्तरमा सम्मानित भएको छ।
अन्तर्राष्ट्रिय सहभागितामूलक लोकतन्त्र पर्यवेक्षण संस्था (ओआईडीपी) ले पोल्यान्डको क्राकोभमा आयोजना गरेको समारोहमा धनकुटा नगरपालिकालाई ‘ओआईडीपी अवार्ड’ अन्तर्गत पारिस्थितिकीय रूपान्तरण तथा वातावरण विधामा विशेष सम्मान प्रदान गरिएको हो। नगरप्रमुख चिन्तन तामाङले मंगलबार आयोजित समारोहमा सम्मानपत्र ग्रहण गरे।

ओआईडीपीले आह्वान गरेको प्रस्तावमा ४१ देशका स्थानीय तथा क्षेत्रीय सरकारका १६७ अभ्यास सहभागी भएकामा ४० वटा अभ्यास अन्तिम चरणका लागि छनोट भएका थिए। त्यसमध्ये धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकासँग सम्बन्धित निबुवा ताङ्खुवा जलाधार व्यवस्थापन अभ्यास उत्कृष्ट अभ्यासका रूपमा सम्मानित भएको धनकुटा नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले जानकारी दिए । यस अभ्यासअन्तर्गत स्थानीय समुदायको परम्परागत ज्ञान र सहभागितालाई वैज्ञानिक तथा प्राविधिक ज्ञानसँग जोडेर जलस्रोत संरक्षण, भूमि व्यवस्थापन, जलवायु अनुकूलन तथा विपद् जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन हुँदै आएका छन्। नगरप्रमुख तामाङले प्राप्त सम्मानलाई नगरपालिका मात्र नभई जलाधार संरक्षणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न स्थानीय समुदाय र सरोकारवाला निकायको योगदानको अन्तर्राष्ट्रिय पहिचान भएको बताए। निबुवा ताङ्खुवा जलाधार व्यवस्थापनसम्बन्धी कार्यक्रम आर्थिक वर्ष २०७७।७८ देखि धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा इसिमोडको सहयोग तथा विभिन्न साझेदार संस्थाको समन्वयमा सञ्चालन हुँदै आएको उनले जानकारी दिए । स्थानीय तहले समुदायको सहभागितामा सञ्चालन गरेको वातावरण तथा जलाधार संरक्षणको अभ्यास अन्तर्राष्ट्रिय मञ्चमा छनोट भएर सम्मानित हुनुले धनकुटाको स्थानीय शासन अभ्यासलाई विश्वस्तरमा चिनाउने अवसर प्राप्त भएको नगरपालिकाले जनाएको छ।