१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

Radio Khabar Palika

धनकुटामा १४ परिवारले निकाले गाईजात्रा, हजारौँको सहभागिता( फोटो फिचर)



१३ भदौ,धनकुटा । दिवंगत आफन्तको सम्झना तथा आत्माको चिरशान्तिको कामना गर्दै नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा धनकुटामा परम्परागत रूपमा मनाइएको छ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिंगारेर नगर परिक्रमा गराउने परम्पराअनुसार धनकुटामा यस वर्ष १४ परिवारले गाईजात्रा निकालेका छन्। मृतकका परिवारले बिहानैदेखि विभिन्न झाँकी तथा सांस्कृतिक प्रस्तुतिसहित जात्रा निकालेका हुन्।

धनकुटा सदरमुकामको श्रीवानीबाट सुरु भएको गाईजात्रा मदनचोक, चुवाको बोट, भीमनारायण चोक, माथिल्लो कोप्चे र तल्लो कोप्चे हुँदै टुँडिखेल पुगेर समापन भएको थियो। सिरवानी, मदनचोक, हुलाकटोल, सिरानबजार, तल्लो तथा माथिल्लो कोप्चे, बिहीबारे हाट, छरागाउँ र देब्रेबासलगायतका स्थानबाट समेत गाईजात्रा निकालिएको थियो। गाईजात्रामा गाईको अनुहार तथा गणेशको चित्र अंकित गाई बनाएर नगर परिक्रमा गराइएको थियो। गाईको स्वरूपमा सिंगारिएका मानिसलाई नगर परिक्रमा गराउँदै श्रद्धालुले दूध, फलफूल, रोटी, चिउरा, दहीलगायतका खाद्य सामग्री तथा अन्न र द्रव्य दान गरेका थिए।


धार्मिक विश्वासअनुसार गाईजात्रामा सहभागी गराएपछि दिवंगत आत्माले गाईको पुच्छर समातेर वैतरणी नदी पार गरी मोक्ष प्राप्त गर्ने मान्यता रहेको छ। यही धार्मिक आस्थाका कारण दिवंगत परिवारको सम्झना र आत्माको शान्तिको कामनासहित गाईजात्रा निकाल्ने परम्परा रहिआएको स्थानीय उर्गेन शाक्यले जानकारी दिए । गाईजात्रा हेर्न तथा सहभागी हुन धनकुटा बजारमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको थियो।

जात्रामा लाखे नाच, लाठी नाच, तामाचा तथा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो। दिवंगत आमाबुबा, दाजुभाइ तथा परिवारका अन्य सदस्यको सम्झना र आत्माको चिरशान्तिको कामना गर्दै गाईजात्रामा सहभागी भएको शाक्यले बताए। उनका अनुसार गाईजात्रा मृतकको सम्झना गर्ने पर्व मात्र नभई नेवारी कला, संस्कृति, परम्परा र सामाजिक एकतालाई निरन्तरता दिने महत्वपूर्ण अवसरसमेत हो।

गाईजात्रामा गाई, मानिस वा बालबालिकालाई विशेष रूपमा सिंगारेर नगर परिक्रमा गराउने, बाजागाजा बजाउने, विभिन्न झाँकी प्रदर्शन गर्ने तथा लाखे नाच प्रस्तुत गर्ने चलन छ। यसले पुस्तौँदेखि चलिआएको नेवारी कला, संस्कृति र मौलिक पहिचानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नसमेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्राको सुरुवात राजा प्रताप मल्लको पालादेखि भएको मानिन्छ।

पुत्रशोकमा रहेकी रानीलाई संसारमा मृत्यु र शोक सबैले भोग्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले मृतकका नाममा गाईजात्रा निकालेर नगर परिक्रमा गराउन आदेश दिएको जनविश्वास छ। पछि रानीको मन शान्त पार्न प्रहसन तथा व्यंग्यात्मक कार्यक्रमसमेत प्रस्तुत गर्न लगाइएपछि गाईजात्रामा हास्यव्यंग्य र मनोरञ्जनका कार्यक्रम जोडिएको मानिन्छ।