५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

Radio Khabar Palika

धनकुटामा काँचो एभोकाडो नटिप्न नगरपालिकाको आग्रह



५ भदौ, धनकुटा । एभोकाडो उत्पादनका लागि परिचित धनकुटामा नगरपालिकाले परिपक्व तथा गुणस्तरीय एभोकाडो मात्र टिपेर बिक्री–वितरण गर्न किसान तथा व्यवसायीलाई आग्रह गरेको छ।
धनकुटा नगरपालिकाले सूचना जारी गर्दै बजारमा काँचो तथा अपरिपक्व एभोकाडो पुग्दा फलको स्वाद, गुणस्तर र धनकुटाको एभोकाडोप्रतिको उपभोक्ताको विश्वासमा असर पर्न सक्ने भन्दै परिपक्व फल मात्र टिप्न आग्रह गरेको हो। एभोकाडो परिपक्व भएपछि पनि केही समय रुखमै नरम हुँदै जाने भएकाले जातअनुसार परिपक्व हुने समय फरक पर्न सक्छ। फलको उचित आकार, बाहिरी स्वरूप तथा अन्य परिपक्वताका संकेत हेरेर मात्र टिप्नुपर्ने नगरपालिकाले जनाएको छ। नगरपालिकाले परिपक्व एभोकाडो पहिचानका लागि फल आफ्नो जातअनुसार उचित आकार र पूर्ण विकास भएको हुनुपर्ने जनाएको छ। केही जातमा बोक्राको रङ हरियोबाट पहेँलो–हरियो हुँदै जान सक्ने भए पनि रङ मात्रका आधारमा परिपक्वता निर्धारण नगर्न आग्रह गरिएको सूचनामा उल्लेख गरिएको छ । फलभित्रको बीउको बोक्रा पातलो र खैरो।गाढा हुँदै जानु पनि परिपक्वताको संकेत हुने सूचनामा उल्लेख छ।


एभोकाडो टिप्दा फललाई तान्ने वा झटारो हानेर नटिप्न, कैँची वा क्लिपर प्रयोग गरी डाँठसहित सावधानीपूर्वक काट्न नगरपालिकाले सुझाव दिएको छ। टिपिएका फलमा चोटपटक, घर्षण वा दाग नलाग्ने गरी सावधानी अपनाउन तथा भुइँमा नखसालेर छायाँमा सुरक्षित रूपमा संकलन र ढुवानी गर्न पनि आग्रह गरिएको छ। त्यस्तै रोग लागेको, कुहिएको, क्षतिग्रस्त वा गुणस्तरहीन फल बिक्री नगर्न नगरपालिकाले किसान तथा व्यवसायीलाई अनुरोध गरेको छ।
नगरपालिकाले छोटो समयका लागि बढी मूल्य पाउने उद्देश्यले काँचो, अपरिपक्व वा रोगी एभोकाडो नटिप्न र बजारमा नपठाउन आग्रह गरेको छ। काँचो फल बजारमा पठाउँदा तत्कालको आम्दानी भए पनि धनकुटाको एभोकाडो ब्रान्ड, बजार र उपभोक्ताको विश्वासमा दीर्घकालीन असर पर्न सक्ने नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीको भनाइ छ। खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम गर्ने सम्बन्धमा प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ तथा उपभोक्ता हित र गुणस्तरीय वस्तु प्राप्त गर्ने अधिकारसम्बन्धी कानुनी व्यवस्थाको पालना गर्नसमेत नगरपालिकाले आग्रह गरेको छ।