२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

Radio Khabar Palika

कृष्णराज श्रेष्ठ नेतृत्वको प्यानलद्वारा व्यवसायी हितका लागि १० बुँदे प्रतिबद्धता सार्वजनिक



२ भदौ ,धनकुटा । धनकुटा उद्योग वाणिज्य संघको भदौ ६ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार कृष्णराज श्रेष्ठ नेतृत्वको प्यानलले व्यवसायीको हकहित संरक्षण, बजार प्रवर्द्धन र व्यवसायमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धतासहित १० बुँदे योजना सार्वजनिक गरेको छ।
श्रेष्ठ नेतृत्वको प्यानलले आज पत्रकार सम्मेलन गर्दै सम्पूर्ण व्यवसायीको हकहितको संरक्षण, प्रवर्द्धन, समान प्रतिनिधित्व तथा स्वच्छ व्यवसाय वातावरण निर्माणलाई मुख्य प्राथमिकता दिएको जनाएको छ। प्यानलले व्यवसायीलाई कर शिक्षासम्बन्धी जानकारी तथा सहजीकरण गर्ने, स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणमा जोड दिने तथा आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धनमा व्यवसायीलाई जोड्ने योजना अघि सारेको छ। त्यस्तै व्यवसायीले भोग्दै आएका समस्याको वैज्ञानिक तवरले पहिचान गरी समाधानका लागि पहल गर्ने र व्यवसायीसँग सम्बन्धित सम्पूर्ण सरोकारवाला निकायसँग समन्वय स्थापना गर्ने प्रतिबद्धता जनाएको छ।
ठूला, मझौला तथा साना व्यवसायबीच नङ र मासुको सम्बन्ध स्थापित गर्ने, धनकुटाको तल्लो कोप्चेमा उद्योग वाणिज्य संघको भवन निर्माण गर्ने तथा विपद् व्यवस्थापनका लागि आवश्यक कोष निर्माण गर्ने योजना पनि प्यानलले अघि सारेको छ।व्यवसायीलाई सीपमूलक तालिम प्रदान गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने तथा बजार अनुगमनका क्रममा उद्योग वाणिज्य संघका पदाधिकारी वा प्रतिनिधिको अनिवार्य उपस्थिति गराई सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।
श्रेष्ठ नेतृत्वको प्यानलले व्यवसायीका साझा समस्या समाधानका लागि संघलाई प्रभावकारी समन्वयकारी संस्थाका रूपमा विकास गर्ने दाबी गरेको छ।
धनकुटा उद्योग वाणिज्य संघको आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ छ।निर्वाचनमा अध्यक्ष पदका लागि कृष्णराज श्रेष्ठ, र रामबहादुर रायाले उम्मेदवारी दिएका छन्। श्रेष्ठ अघिल्लो कार्यसमितिका उपाध्यक्ष, र राया कार्यवाहक महासचिवका रूपमा कार्यरत थिए ।श्रेष्ठ नेतृत्वमा बरिष्ठ उपाध्यक्षमा विक्रम प्रधान, उपाध्यक्षमा नगेन्द्र काफ्ले,सुनिता पौडेल,महिला उपाध्यक्षमा निर्मला राइृ (श्रेष्ठ ) सचिवमा महेन्द्र थापा, कोषाध्यक्षमा प्रविन पोखरेलले उम्मेद्वरी दिएका छन ।त्यस्तै सदस्यहरुमा सागर तामाङ ,शोभा श्रेष्ठ, देवबहादुर विश्वकर्मा , गोविन्द दाहाल र भैरा राईले उम्मेद्वारी दिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।