
२७ साउन,धनकुटा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिको आयोजनामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
पाख्रीबास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा जालपादेवी माविसहित शीतलादेवी मावि, सयपत्री मावि र दिव्यज्योति माविका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी चौकी हिलेका इन्चार्ज प्रहरी नायब निरीक्षक दीपक कटुवालले लागुऔषधका प्रकार, सेवनबाट हुने असर, दुर्व्यसनका चरण तथा लक्षण, लागुऔषधको प्रयोगमा फस्नुका कारण र त्यसबाट बच्ने उपायबारे सहजीकरण गरेका थिए । यस्तै, हेल्पिङ हेन्ड धनकुटाका प्रतिनिधिहरूले लागुऔषध दुर्व्यसनसँग सम्बन्धित अनुभव तथा सचेतनामूलक जानकारी विद्यार्थी तथा सहभागीहरूसँग साझा गरेका थिए ।कार्यक्रममा इलाका प्रहरी कार्यालय पाख्रीबासका इन्चार्ज प्रहरी नायब निरीक्षक एकबहादुर बस्नेत, वरिष्ठ पत्रकार सञ्जय सन्तोषी राई, जालपादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल रिमाललगायत विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो । पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता रास्वपा पाख्रीबास नगर समितिका सभापति विष्णु विक्रम निरौलाले गरेका थिए । कार्यक्रम इलाका प्रहरी कार्यालय पाख्रीबास र हेल्पिङ हेन्ड धनकुटाको सहकार्यमा आयोजना गरिएको हो ।

