१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

Radio Khabar Palika

व्यक्तित्व विकास र महिला सशक्तीकरणका लागि ‘मिस धनकुटा–२०८३’ आयोजना हुँदै



१३ साउन, धनकुटा । धनकुटामा युवतीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस धनकुटा–२०८३’ आयोजना हुने भएको छ।

टिन्स क्रिउ डान्स सेन्टर एण्ड रिक्रिएसन मल्टिमिडिया एण्ड इन्टरटेन्मेन्ट प्रालि, धनकुटा को आयोजनामा हुने प्रतियोगिता आगामी २०८३ असोज ३ गतेदेखि सुरु हुने आयोजकले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगिता बाह्य सौन्दर्यमा आधारित नभई सहभागी युवतीहरूको व्यक्तित्व, आत्मविश्वास, नेतृत्व क्षमता, बौद्धिक विकास, सार्वजनिक वक्तृत्वकला, सामाजिक उत्तरदायित्व तथा सिर्जनशीलताको मूल्याङ्कन को आधारमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विभिन्न चरणमा व्यक्तित्व विकास, सञ्चार सीप, मञ्च प्रस्तुति, शिष्टाचार, स्वास्थ्य तथा फिटनेस, आत्मविश्वास अभिवृद्धि र नेतृत्व विकाससम्बन्धी प्रशिक्षणसमेत प्रदान गरिने कार्यक्रम सयोजक सुमन योगीले जानकारी दिए । प्रतियोगितामार्फत धनकुटाको कला, संस्कृति, लोक परम्परा तथा पर्यटन प्रवर्द्धन गर्दै जिल्लाको सकारात्मक पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य लिइएको आयोजकको भनाइ छ। प्रतियोगितामा सहभागीहरूलाई सामाजिक अभियान, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य, महिला अधिकार, लैङ्गिक समानता तथा समुदाय विकाससँग सम्बन्धित गतिविधिमा समेत सहभागी गराइने जनाइएको छ।

प्रतियोगितामा सहभागी हुन १६ देखि २७ वर्ष उमेर समूहका, कम्तीमा ५ फिट २ इन्च उचाइ भएका, नेपाली नागरिकता प्राप्त तथा न्यूनतम एसईई (कक्षा १०) वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका युवती हुनपर्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले १ लाख नगद, क्राउन, म्युजिक भिडियोमा अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले २० हजार नगदसहित क्राउन, मेडल, प्रमाणपत्र तथा अन्य आकर्षक उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको मुख्य प्रायोजक एभेन्टोज रहेको छ भने धनकुटा नगरपालिका, स्थानीय वडा कार्यालयहरू तथा विभिन्न संघसंस्थाले सहयोग गर्ने आयोजक सस्थाका कार्यक्रम संयोजक योगीले जानकारी दिए ।