
विदुर खवास
११ साउन, धनकुटा। धनकुटाको पर्यटकीय स्थल भेडेटारमा निजी क्षेत्रको लगानीमा निर्माण गरिएको स्काइ वाकले दोस्रो वार्षिकोत्सव मनाएको छ। वन्डर्स ग्रुपले सोमबार विशेष कार्यक्रम आयोजना गरी २०८१ साउन ११ गतेदेखि सञ्चालनमा आएको स्काइ वाकको दोस्रो वार्षिकोत्सव मनाएको हो।

वन्डर्स ग्रुपका अनुसार भेडेटारको पर्यटनलाई थप प्रवर्द्धन गर्दै पर्यटकलाई साहसिक अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएको स्काइ वाकले अपेक्षाअनुसारको सफलता हासिल गरेको छ। निजी क्षेत्रको पहलमा सुरु गरिएको यो परियोजनाले भेडेटारलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान दिएको कम्पनीको दाबी छ।
स्काइ वाकका प्रबन्ध निर्देशक सञ्जीव रोकायले सरकारी क्षेत्रबाट नभई निजी लगानीमा सुरु गरिएको परियोजनाले तय गरिएको लक्ष्य क्रमशः पूरा गर्दै गएको बताए। उनका अनुसार सञ्चालनको पहिलो वर्ष करिब १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले स्काइ वाकको अवलोकन गरेका छन्।

कुल ११ रोपनी क्षेत्रफलमा निर्माण गरिएको स्काइ वाक धनकुटासहित आसपासका जिल्ला र भारतबाट आउने पर्यटकका लागि समेत आकर्षक गन्तव्य बनेको छ। सिसामाथि हिँडेर आकाशमा हिँडेजस्तो अनुभूति हुने भएकाले साहसिक पर्यटन रुचाउनेहरूको रोजाइमा यो पूर्वकै चर्चित गन्तव्य बन्दै गएको छ।

स्काइ वाकमा एकपटकमा २५ जनासम्म प्रवेश गर्न सक्ने व्यवस्था गरिएको छ। साथै ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा तीन फिटभन्दा कम उचाइ भएका बालबालिकालाई निःशुल्क प्रवेशको सुविधा दिइएको कम्पनीले जनाएको छ। कार्यक्रममा भेडेटारमा पर्यन प्रर्बधा गर्न सहयोग पु¥याउने विभिन्न संघ सस्था तथा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

स्काई वाकद्वरा गाेलखाडी माविकी छात्रा रुमा राई नगद सहित सम्मानित
धनकुटाकाे भेडेटारमा संचालनमा रहेकाे स्काई वाकले २०८२ काे एसईई परीक्षामा साँगुरीगढी गाउँपालिकाका विद्यालय बाट उत्कृष्ट अंक प्राप्त गर्ने १ जना छात्रा र १ जना छात्र लाई नगद २५ हजार सहित सम्मान गरेकाे छ । छात्रा तर्फ सम्मानित हुनेमा साँगुरीगढि गाउँपालिका ७ मा रहेकाे गाेलखाडी माध्यमिक विद्यालयकि छात्रा रुमा राई रहेकी छिन् । रुमाले गत वर्षको एसईईमा ३.६५ जिपिए ल्याएकी थिइन् र त्यसकाे सम्मान साेरुप वाकले आफ्नाे दाेस्राे बार्षिक उत्सवमा सम्मान गरेकाे विद्यालयका प्रधानाध्यापक खेलबहादुर इवाहाङले जानकारी दिए ।
