
विदुर खवास
२ साउन, धनकुटा। अविरल वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाका प्रमुख सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबार साँझ ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो।
प्रशासनका अनुसार भेडेटार–रवि–राँके सडक र मुलघाटदेखि पाँचथर सीमासम्मको तमोर कोरिडोर मा रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ। कोशी राजमार्गमा भने सडकको वास्तविक अवस्थाको मूल्यांकन गर्दै आवश्यकता अनुसार मात्रै सवारी आवागमन रोक्ने व्यवस्था गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाका अनुसार भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सवारीसाधनलाई रोक लगाइएको छ। तर भेडेटारबाट धनकुटा बजारतर्फ आउने सवारीलाई भने सञ्चालन गर्न दिइनेछ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार धनकुटासहित देशका विभिन्न क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तह तथा स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।
पहिरो र बाढीको जोखिम भएका सडक क्षेत्रमा डोजर, एक्स्काभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यकता परे सुरक्षित स्थानमा सार्न स्थानीय तहसँग समन्वय गर्न पनि प्रशासनले आग्रह गरेको छ।
प्रशासकीय अधिकृत धमलाले खोला, नदी, खहरेको आसपास तथा पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन र आकस्मिक अवस्था आएमा तत्काल नेपाल प्रहरीको हटलाइनमा सम्पर्क गर्न अनुरोध गरेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आगामी दुई दिन धनकुटासहित पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा बाढी तथा पहिरोको उच्च जोखिम रहने भएकाले स्थानीय प्रशासनहरूले सतर्कता बढाएका छन्।

