
२४ असार,धनकुटा। सहिद भीमनारायण श्रेष्ठको ८९औँ जन्मजयन्तीको अवसरमा सहिद भीमनारायण स्मृति प्रतिष्ठान, धनकुटाले बुधबार श्रद्धाञ्जली तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
धनकुटा नगरपालिका–६ स्थित सहिद भीमनारायण श्रेष्ठ चोकमा रहेको उहाँको सालिकमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको हो। कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राई, सहिदपुत्र मनोज नारायण श्रेष्ठ, जिल्ला सचिव विजय सन्तोष राई, प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, महासचिव रोशन श्रेष्ठ, नेपाल शिक्षक सङ्घ धनकुटाका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, नेपाली कांग्रेस धनकुटा नगरका नेता तथा पूर्व वडाध्यक्ष नरेश श्रेष्ठ, धनकुटा नगरपालिका–५ का वडाध्यक्ष धनकुमार राई, वडा नं। ६ का वडाध्यक्ष मिलनकुमार खड्की, क्षेत्रीय प्रतिनिधि प्रकाश श्रेष्ठ, पूर्व वडा सभापति वीरेन्द्रलाल श्रेष्ठ, पूर्व निर्वाचित वडा सदस्य लक्ष्मण खड्का, वडा सचिव रमेश शाक्य, अग्रज मानप्रकाश खड्कालगायतले सालिकमा फूलमाला अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति दिनेश राईले सहिद भीमनारायण श्रेष्ठले प्रजातन्त्र, देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान दिएको उल्लेख गरे । प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोष राईले सहिद श्रेष्ठको योगदान र जीवनीबारे प्रकाश पारेका थिए। जन्मजयन्तीकै अवसरमा धनकुटा नगरपालिका–६ स्थित कचिडीमा रहेको सहिद भीमनारायण स्मृति प्रतिष्ठान भवन परिसरमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न गरिएको प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिए। कार्यक्रममा विभिन्न जातका फूल तथा अन्य प्रजातिका बिरुवा रोपिएको उनले बताए ।
सहिद भीमनारायण श्रेष्ठ
नेपाली कांग्रेस धनकुटाका तत्कालीन नेता भीमनारायण श्रेष्ठलाई राजा वीरेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा विराटनगरमा बम प्रहार गरेको अभियोगमा पक्राउ गरिएको थियो। लामो समयसम्म कठोर जेल यातना दिइएपछि २०३५ साल माघ २६ गते कोसी टप्पुको जंगलमा लगेर गोली हानी हत्या गरिएको थियो। प्रजातन्त्र, देश र जनताको पक्षमा दिएको योगदानको कदर गर्दै नेपाल सरकारले २०७२ साल फागुन १९ गते उहाँलाई सहिद घोषणा गरेको थियो। उहाँको जन्म वि.सं. १९९४ साल असार २४ गते भएको हो।

