
विदुर खवास
९ असार,धनकुटा। धनकुटामा समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सात दिने ‘समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माण तालिम तथा सचेतनामूलक कार्यक्रम’ सुरु गरिएको छ।
मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म छिन्ताङ परिसरमा आयोजित तालिममा विपद्का बेला आपत्कालीन उद्धार, प्राथमिक उपचार तथा प्रतिकार्यका विभिन्न अभ्यासहरू सञ्चालन गरिएको छ। सहभागीहरूले उद्धार कार्य कसरी गर्ने, घाइतेलाई प्राथमिक उपचार कसरी उपलब्ध गराउने तथा विपद्को अवस्थामा प्रभावकारी प्रतिकार्य कसरी गर्ने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण लिइरहेका छन्।

कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली (सुनसरी) र सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म छिन्ताङको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। तालिममा २० जना प्रशिक्षार्थी सहभागी छन्, जसमध्ये ७ जना महिला र १३ जना पुरुष रहेका छन्। सहभागीहरूमा स्थानीय बासिन्दा, विपद् सूचक तथा नगर प्रहरीसमेत समावेश छन्। यसले समुदाय र सुरक्षा निकायबीचको समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। सात दिनसम्म सञ्चालन हुने तालिममा विपद्को आधारभूत परिचय, बाढी तथा पहिरोजस्ता पानीजन्य विपद्मा खोज तथा उद्धार, भूकम्प र आगलागी नियन्त्रण, भत्किएका संरचनाबाट उद्धार, प्राथमिक उपचार तथा गाँठो बाँध्ने विधिलगायतका विषयमा व्यावहारिक सीप प्रदान गरिनेछ।
कार्यक्रमलाई सम्बोधन गर्दै धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद् व्यवस्थापनमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्। उनले सरकारी निकायसँगै समुदाय स्वयं सक्षम र सचेत भए मात्र विपद् जोखिम न्यूनीकरण प्रभावकारी बन्न सक्ने धारणा व्यक्त गरिन्।
त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नं। ६ गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमप्रसाद सिग्देलले स्थानीय समुदायसँगको सहकार्यले विपद् प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने बताए। उनका अनुसार तालिमपछि तयार हुने स्वयंसेवक समूहले आपत्कालीन अवस्थामा छिटो उद्धार तथा राहत कार्य सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
नेपालजस्तो भौगोलिक रूपमा संवेदनशील मुलुकमा बाढी, पहिरो, भूकम्प र आगलागीजस्ता विपद् नियमित चुनौतीका रूपमा देखापर्ने भएकाले समुदायस्तरमै दक्ष स्वयंसेवक तयार पार्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकको भनाइ छ। तालिमले विपद् जोखिम न्यूनीकरण तथा समुदायको प्रतिकार्य क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

