
२८ जेठ धनकुटा । अनुसन्धानको गुणस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशनयोग्य लेख तयार गर्न सहयोग पुग्ने उद्देश्यले धनकुटाको पाख्रिबासमा पाँचदिने तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखनसम्बन्धी विशेष तालिम सम्पन्न भएको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेज (सीएनआरएम) पाख्रिबासले आयोजना गरेको तालिममा विभिन्न विश्वविद्यालयका २२ जना प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राविधिक सहभागी भएका थिए। विश्वविद्यालय अनुदान आयोग ९यूजीसी० को आर्थिक सहयोगमा जेठ २३ देखि २७ गतेसम्म सञ्चालन भएको कार्यक्रममा अनुसन्धानमा आधारित तथ्याङ्क विश्लेषण, वैज्ञानिक लेखन तथा अन्तर्राष्ट्रिय जर्नल प्रकाशनका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मधेश कृषि विश्वविद्यालय लगायतका शैक्षिक तथा अनुसन्धान संस्थामा कार्यरत जनशक्तिको सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख प्रशिक्षक डा.रोशन बाबु ओझाले अनुसन्धानको गुणस्तर अभिवृद्धि, अन्तर्राष्ट्रिय मापदण्डअनुसार लेख तयारी, जर्नल छनोट, प्रकाशन प्रक्रिया तथा समीक्षकका सुझावलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने उपायबारे प्रशिक्षण दिएका थिए ।
कलेज प्रमुख निराजन भण्डारीका अनुसार सहभागीहरूले वास्तविक अनुसन्धान तथ्याङ्क प्रयोग गरेर विभिन्न तथ्याङ्कीय विश्लेषणका अभ्यास गरेका थिए। तालिमले अनुसन्धान क्षमतासँगै वैज्ञानिक लेखन र प्रकाशनसम्बन्धी दक्षता विकासमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ। उच्च शिक्षामा अनुसन्धानमुखी वातावरण सुदृढ बनाउने तथा अनुसन्धानका नतिजालाई अन्तर्राष्ट्रिय स्तरमा प्रकाशन गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ।

