२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

Radio Khabar Palika

धनकुटाकी एकमात्र महिला ट्याम्पु चालक तृष्णा राई सम्मानित



१६ जेठ,धनकुटा । आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा धनकुटा नगरपालिकाले सार्वजनिक यातायात क्षेत्रमा सक्रिय धनकुटाकी एकमात्र महिला ट्याम्पु चालक तृष्णा राईलाई नगदसहित सम्मान गरेको छ।

धनकुटा–७ टोमुवा निवासी राईलाई शनिबार आयोजित कार्यक्रममा नगद ६ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको हो। लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना कार्यान्वयन इकाई, धनकुटा नगरपालिकाले “महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने मूल नारासहित दिवस मनाउँदै उनलाई सम्मान गरेको जनाएको छ। नगरपालिका क्षेत्रभित्र सार्वजनिक यातायात सेवामा एकमात्र महिला चालकका रूपमा कार्यरत रहँदै महिलाको रोजगारी, आत्मनिर्भरता र सशक्तीकरणमा योगदान पुर्‍याएको भन्दै राईलाई सम्मान गरिएको हो। उनलाई जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई तथा धनकुटा नगरपालिकाकी उपप्रमुख भीमादेवी खनाललगायतले सम्मान हस्तान्तरण गरेका थिए।

३६ वर्षीया राई विगत दुई वर्षदेखि ट्याम्पु चालकका रूपमा कार्यरत छिन्। यसअघि उनी धनकुटाको एक विद्यालयमा कार्यालय सहयोगीको रूपमा काम गर्थिन्। दृष्टिविहीन श्रीमान र सात वर्षीय छोरासहितको परिवारको जिम्मेवारी सम्हाल्दै आएकी राईले मासिक ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन्। सवारी साधन चलाउने रुचिलाई व्यवसायमा रूपान्तरण गर्दै उनले करिब ३ लाख ५० हजार रुपैयाँ लगानीमा ट्याम्पु खरिद गरी व्यवसाय सुरु गरेकी हुन्। यो पेशाबाट सन्तुष्ट भए पनि सडक सुरक्षासँग सम्बन्धित चुनौती भने कायम रहेको उनको भनाइ छ।“कहिलेकाहीँ आफ्नै ज्यान मात्र होइन, यात्रुको सुरक्षाको जिम्मेवारी पनि ठूलो हुन्छ,” उनले भनिन्। यसै अवसरमा महिला सीप विकास तथा सशक्तीकरण क्षेत्रमा प्रशिक्षकको रूपमा योगदान पुर्‍याउँदै आएकी धनकुटा नगरपालिका–५ निवासी रेणु श्रेष्ठलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी परामर्श प्रदान गरिएको थियो। कार्यक्रममा लैङ्गिक हिंसा प्रतिकार्य मञ्चका सदस्य, स्थानीय संघसंस्थाका प्रतिनिधि, किशोर–किशोरी समूह, महिला पुनःस्थापना सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, निःशुल्क कानुनी सहायता समिति तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।