१४ जेष्ठ २०८३, बिहिबार | Thu May 28 2026

Radio Khabar Palika

सिराहाको सलहेश फुटबल क्लबलाई हराउदै आयोजक सहिद भीमनारायण गोल्डकपको फाइनलमा



१४ जेठ, धनकुटा । धनकुटामा जारी १८औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान फाइनलमा प्रवेश गरेको छ। बिहीबार तल्लो टुँडिखेलमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा सिराहाको सलहेश फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै आयोजक टोली उपाधिनजिक पुगेको हो।
निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमै आयोजक टोलीका अमित भेश्राले गरेको एकमात्र गोल निर्णायक बन्यो। खेलभर आक्रामक दबाब बनाएको आयोजक टोलीले त्यसै गोलको आधारमा जित सुरक्षित गरेको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक टोलीका विवेक गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री निरनकुमार राईले नगद ६ हजार ५ रुपैयाँसहित ट्रफी प्रदान गरे। अब आयोजक टोलीले उपाधिका लागि शुक्रवार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा झापाको विर्तामोड युनाइटेड क्लब र मोरङको बेलबारी फुटबल क्लब आमनेसामने हुँदैछन्। सहिद भीमनारायण स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद ६ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ। वि.सं.२०५५ सालदेखि सुरु भएको सहिद भीमनारायण गोल्डकप केही वर्ष रोकिएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। प्रतियोगिता २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको हो। नेपाल सरकारले श्रेष्ठलाई २०७४ सालमा सहिद घोषणा गरेको थियो।