
९ जेठ, धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुली ले सञ्चारमाध्यमलाई समयअनुकूल व्यवस्थित गर्दै आवश्यक सहयोगका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नेपाल पत्रकार महासंघ धनकुटाले शनिबारदेखि आयोजना गरेको चार दिने मोबाइल पत्रकारिता तथा मल्टिमिडिया आधारभूत पत्रकारिता तालिम उद्घाटन गर्दै मन्त्री पराजुलीले प्रदेश सरकारले सञ्चार क्षेत्रको सुदृढीकरणलाई प्राथमिकतामा राखेको बताए।

उनले विज्ञान तथा प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रलाई अझ प्रभावकारी र प्रतिस्पर्धी बनाउन आवश्यक नीति, कार्यक्रम तथा बजेट व्यवस्थापनमा प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गरे। सञ्चारमाध्यमको आवश्यकता अनुसार कानुनी तथा नीतिगत व्यवस्था निर्माणलाई पनि प्राथमिकता दिइने उनको भनाइ थियो। मन्त्री पराजुलीले पछिल्लो समय सही सूचना भन्दा भ्रामक सूचनाको प्रभाव बढ्दै गएको भन्दै सूचना ग्रहण गर्दा सचेत र जिम्मेवार हुन आग्रह गरे। सञ्चारमाध्यमले समाज र नागरिकलाई सत्य, तथ्य र विश्वसनीय सूचनामार्फत सुसूचित गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उनले निजी क्षेत्रका सञ्चारमाध्यमप्रति संघीय सरकारका केही नीतिगत निर्णयप्रति कोशी प्रदेश सरकार असन्तुष्ट रहेको समेत धारणा राखे। सरकारी सञ्चारमाध्यमलाई मात्रै सूचना प्रवाह गर्ने निर्णयले निजी सञ्चारमाध्यम प्रभावित भएको उल्लेख गर्दै त्यस्तो निर्णय पुनर्विचार गर्न संघीय सरकारसँग आग्रह गरे।
प्रदेश सरकारले सञ्चार क्षेत्रसँग सहकार्य गर्दै आवश्यक सहयोगका लागि भूमिका खेल्ने प्रतिबद्धता समेत उनले वयक्त गरे। नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले तालिममा ३३ जना सहभागी रहेको र तालिम चार दिनसम्म सञ्चालन जानकारी दिए ।


