
३१ वैशाख, धनकुटा । धनकुटा बहुमुखी क्याम्पसले आफ्नो आधिकारिक वेबसाइटमार्फत क्याम्पससँग सम्बन्धित दैनिक सूचना उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ।
क्याम्पस प्रमुखले सामाजिक सञ्जालमा वेबसाइट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । उनले dhmc.tu.edu.np मा विद्यार्थी, शिक्षक तथा सरोकारवालाले आवश्यक सूचना नियमित रूपमा प्राप्त गर्न सक्ने सामाजिक सञ्जालमै बताएका छन्।
वेबसाइटमार्फत शैक्षिक गतिविधि, परीक्षा सम्बन्धी सूचना, भर्ना प्रक्रिया, कार्यक्रम तथा अन्य प्रशासनिक जानकारी अद्यावधिक गरिने उनको भनाइ छ।
त्यसैगरी, क्याम्पसले हरेक ६/६ महिनामा क्याम्पस बुलेटिन प्रकाशन गर्ने योजना पनि अघि सारेको जनाएको छ। उक्त बुलेटिनमार्फत क्याम्पसका गतिविधि, उपलब्धि, शैक्षिक कार्यक्रम तथा विविध जानकारी समेटिने अपेक्षा उनले गरेका छन्।
क्याम्पस प्रशासनले डिजिटल माध्यमबाट सूचना प्रवाहलाई प्रभावकारी बनाउँदै विद्यार्थी र समुदायसँगको पहुँच अझ सहज बनाउने उद्देश्य राखेको जनाएको छ।

