२८ बैशाख २०८३, सोमबार | Tue May 12 2026

Radio Khabar Palika

जिल्ला स्तरीय खुला ब्याडमिन्टनको उपाधि ए डिभिजन तर्फ नारायण र विशाल तथा बी डिभिजनतर्फ रमेश र उत्सवको जोडीलाई



२८ बैशाख,धनकुटा । धनकुटाको हिलेमा आयोजित जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताले खेलप्रेमीको उत्साह मात्र बढाएन, जिल्लामा ब्याडमिन्टन खेलप्रतिको आकर्षण पनि झल्काएको छ । सिर्जनशिल सांस्कृतिक समूह हिलेको आयोजनामा सम्पन्न प्रतियोगितामा जिल्लाभरबाट ७० टिम सहभागी भएका थिए ।
प्रतिस्पर्धात्मक खेलहरूबीच ए डिभिजनतर्फ नारायण विश्वकर्मा र विशाल पराजुलीको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारे । फाइनलमा उनीहरूले विमल श्रेष्ठ र रोहित कटेलको जोडीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बने ।


त्यस्तै बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कटेलको जोडी विजेता बन्यो । उनीहरूले फाइनलमा पेम्बा लामा र पवन लिम्बूको जोडीलाई २१–१६ र २१–१२ ले हराउँदै उपाधि आफ्नो पक्षमा पारे ।


प्रतियोगितामा ए डिभिजन विजेताले ११ हजार रुपैयाँ तथा उपविजेताले ५ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । बी डिभिजनका विजेताले २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा हिलेका साइमन राई ‘उदयमान खेलाडी’ घोषित भए । उनले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
आयोजक सिर्जनशिल सांस्कृतिक समूहका अध्यक्ष भुपेन तामाङका अनुसार प्रतियोगिताले जिल्लामा ब्याडमिन्टन खेलको लोकप्रियता बढ्दै गएको संकेत गरेको छ । “युवाहरूको सहभागिता र दर्शकको उत्साहले आगामी दिनमा अझ ठूलो स्तरका प्रतियोगिता आयोजना गर्न प्रेरणा दिएको छ,” उनले बताए ।
विजेता तथा उपविजेता टोलीलाई धनकुटा नगर कार्यपालिका सदस्य मनकला लिम्बू, कोशी प्रदेश ब्याडमिन्टन संघका अध्यक्ष भोगेन्द्र थापा, जिल्ला खेलकुद विकास समितिकी उपाध्यक्ष सिर्जना भुजेल, जिल्ला ब्याडमिन्टन संघका उपाध्यक्ष गोविन्द राई र उज्ज्वल कर्माचार्य, जिल्ला भलिबल संघका अध्यक्ष गौरव कार्की तथा हिले ब्याडमिन्टन क्लबका आशिष गोङ्वालगायतले पुरस्कार वितरण गरेका थिए ।