१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

Radio Khabar Palika

दलित अधिकार सुनिश्चितताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र



१७ बैशाख,धनकुटा । दलित समुदायमाथि भइरहेका हिंसा, विभेद र अन्यायका घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै धनकुटाका विभिन्न दलित संघ–संस्थाले प्रधानमन्त्रीसमक्ष न्यायिक छानबिन, दोषीमाथि कारबाही र अधिकार सुनिश्चितताको माग गरेका छन् ।

दलित एकता समाज धनकुटा, दलित विकास केन्द्र नेपाल धनकुटा, दलित महिला संघ (फेडो) धनकुटा, परियार सेवा समाज धनकुटा, पारालिगल सहयोग समिति धनकुटा तथा दलित आन्दोलनका अगुवाहरूले संयुक्त रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंलाई सम्बोधन गरी प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडका मार्फत ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ललितपुरको सातदोबाटोबाट पक्राउ परेका सिन्धुली सुनकोशी गाउँपालिका–३ निवासी श्रीकृष्ण विक हिरासतभित्र मृत फेला परेको घटनालाई गम्भीर रूपमा उठाइएको छ । उक्त घटनाले प्रहरीको भूमिकामाथि प्रश्न उठाएको उल्लेख गर्दै निष्पक्ष र उच्चस्तरीय न्यायिक छानबिनको माग गरिएको छ । त्यसैगरी, रोल्पाको गंगादेव गाउँपालिका–५ पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि भएको कुटपिट तथा उद्धारमा गएका व्यक्तिमाथि नै आक्रमण गरिएको घटनालाई पनि ज्ञापनपत्रमा समेटिएको छ । यस्ता घटनाले देशमा अझै पनि जातीय विभेद कायम रहेको स्पष्ट हुने दलित विकास केन्द्र नेपाल धनकुटाका अध्यक्ष गोपाल बराइलीले जानकारी दिए । नेपालमा दलित समुदाय कुल जनसंख्याको करिब १३.४५ प्रतिशत भए पनि गरिबी, हिंसा र विभेदको चपेटामा परिरहेको उल्लेख गर्दै अधिकांश घटनाहरू कानुनी दायरामा नपुग्दा दण्डहीनता बढिरहेको चिन्ता व्यक्त गरिएको छ ।

ज्ञापनपत्रमार्फत पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत र सुरक्षा व्यवस्था सुनिश्चित गर्न, जातीय विभेदका सबै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा कडा कारबाही गर्न माग गरिएको छ । साथै, विभेद अन्त्यका लागि प्रभावकारी नीति, कार्यान्वयन र जनचेतनामूलक अभियान सञ्चालन गर्न पनि सरकारसँग आग्रह गरिएको छ । संविधानले सुनिश्चित गरेको समानता, मानव अधिकार र सामाजिक न्याय व्यवहारमा लागू हुन नसकेको उल्लेख गर्दै दलित समुदायमाथि हुने सबै प्रकारका विभेद अन्त्य गर्न राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । ज्ञापनपत्रमा दलित एकता समाज धनकुटाका अध्यक्ष कोपिला शंकर, दलित विकास केन्द्र नेपाल धनकुटाका अध्यक्ष गोपाल बराइली, दलित महिला संघ (फेडो) धनकुटाकी अध्यक्ष लक्ष्मी परियार, परियार सेवा समाजका अध्यक्ष भैरवलाल पाँचकोटी, पारालिगल सहयोग समिति धनकुटाकी सदस्य अम्विका परियार तथा दलित आन्दोलनका अगुवा मदन बसेलको हस्ताक्षर रहेको छ ।