
१० बैशाख,धनकुटा । नेपाली कांग्रेस धनकुटाले पार्टी संगठन सुदृढीकरण, विस्तार र नागरिकसँग प्रत्यक्ष सम्बन्ध पुनर्स्थापित गर्ने उद्देश्यसहित ‘जरा अभियान’ सुरु गरेको छ। परम्परागत कार्यक्रमभन्दा फरक शैलीमा फूलको बोटको जरामा पानी सिंचित गर्दै अभियान शुभारम्भ गरिएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा कोइराला र जिल्ला सभापति दिनेश राईले संयुक्त रूपमा अभियान उद्घाटन गर्दै यो अभियानले पार्टीलाई जरा तहबाट पुनर्गठन गर्ने विश्वास व्यक्त गरे। कोइरालाले ‘जरा अभियान’ ले कांग्रेसलाई अझ सशक्त, सक्रिय र जनमुखी बनाउने बताईन भने सभापति राईले यसले कांग्रेसलाई बदलिँदो राजनीतिक परिवेशअनुसार पुनः नागरिकको बीचमा स्थापित गराउने दाबी गरे। अभियानलाई केवल संगठन विस्तारमा सीमित नराखी जनसम्बन्ध र जनविश्वास पुनःनिर्माणसँग जोडिएको रणनीतिका रूपमा प्रस्तुत गरिएको नेपाली काग्रेसका सभापति राईले जानकारी दिए । कार्यक्रममा जिल्ला सचिव विजय सन्तोष राईले अभियानको उद्देश्य र कार्ययोजना सार्वजनिक गर्दै सातवटै पालिका र ६० वटै वडामा प्रतिनिधि परिचालन गरिने जानकारी दिए। वडा तथा टोल तहमा क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण, पार्टी नीति तथा कार्यक्रमबारे नागरिकसँग संवाद र जनचासोका सवालमा प्रत्यक्ष सहभागिता अभियानका मुख्य प्राथमिकता हुने सचिव राईले जानकारी दिए । अर्का जिल्ला सचिव जयन्द्र घिसिङले अभियानअन्तर्गत गर्नुपर्ने कार्यहरूबारे प्रस्तुति दिएका थिए । कार्यक्रममा महासमिति सदस्य, क्षेत्रीय नेतृत्व, जनवर्गीय संगठनका प्रतिनिधि तथा वडा तहका नेताहरूले ‘जरा अभियान’ लाई परम्परागत संगठनात्मक अभ्यासभन्दा फरक ढंगले परिणाममुखी बनाउनुपर्ने धारणा राखेका थिए। उनीहरूले कांग्रेसलाई नागरिकको दैनिक सरोकारसँग जोड्ने अवसरका रूपमा अभियानलाई लिनुपर्नेमा जोड दिए। पछिल्लो समय दलहरू नागरिकबाट टाढिँदै गएको बहस चलिरहेका बेला नेपाली कांग्रेस धनकुटाले सुरु गरेको ‘जरा अभियान’ लाई संगठन पुनर्जागरण र जनआधार विस्तारको अभ्यासका रूपमा हेरिएको छ।

