१० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026

Radio Khabar Palika

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको विरोध, धनकुटाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र



१० बैशाख,धनकुटा । सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयविरुद्ध नेपाल पत्रकार महासंघले थालेको देशव्यापी आन्दोलनअन्तर्गत धनकुटामा पनि विरोध जनाइएको छ। बिहीबार नेपाल पत्रकार महासंघ धनकुटा शाखाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो।

महासंघ धनकुटा शाखाले प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्कालाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय सङ्घीयता विरोधी, विभेदकारी तथा आपत्तिजनक भएको जनाएको छ। महासंघले सरकारको यो नीति तत्काल फिर्ता लिन माग गरेको छ।

ज्ञापनपत्र बुझाउने क्रममा शाखा अध्यक्ष बिदुर खवासले सरकारी सञ्चार माध्यमलाई मात्र विज्ञापन दिने निर्णयले निजी तथा स्वतन्त्र सञ्चार माध्यमलाई कमजोर बनाउने, प्रेस स्वतन्त्रतामाथि असर पार्ने तथा सञ्चार क्षेत्रमै असमानता सिर्जना गर्ने धारणा व्यक्त गरे। उनले यस्तो विभेदकारी नीति तत्काल खारेज गर्न सरकारसँग माग गरे। आन्दोलनको कार्यक्रमअनुसार महासंघमा आबद्ध पत्रकारहरू संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले पत्रकारहरूको मागप्रति ध्यानाकर्षण भएको जनाउँदै ज्ञापनपत्र गृहमन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइने प्रतिबद्धता व्यक्त गरे।

नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणसम्बन्धी नीतिको विरोधमा देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोही कार्यक्रमअन्तर्गत धनकुटामा पनि विरोधका कार्यक्रम सुरु गरिएको महासंघले जनाएको छ।