
१० बैशाख, धनकुटा । सरकारले स्थानीय तह पुनर्संरचनाको प्रक्रिया अघि बढाइरहेका बेला नेकपा एमाले धनकुटाले यस विषयलाई प्राथमिक बहसको एजेन्डा बनाएको छ। जनप्रतिनिधिहरूको सुझाव संकलन गर्दै एमाले धनकुटाले पुनर्संरचना जनताको सुविधा, पहुँच र सेवा प्रवाहलाई केन्द्रमा राखेर हुनुपर्ने निष्कर्ष अघि सारेको छ।
कम्युनिष्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, जिल्ला समन्वय समिति प्रमुख, पालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले स्थानीय तहको वर्तमान संरचना, चुनौती र सम्भावित पुनर्संरचनाबारे धारणा राखेका थिए।

कार्यक्रममा अधिकांश सहभागीले पुनर्संरचना राजनीतिक स्वार्थका आधारमा नभई जनसहजता, भौगोलिक अवस्था, सेवा पहुँच र प्रशासनिक प्रभावकारितालाई आधार बनाएर हुनुपर्नेमा जोड दिएका छन्।प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले जनताको दैनिक सेवा प्रवाह सहज हुने गरी पुनर्संरचना आवश्यक रहेको बताए। एमाले जिल्ला अध्यक्ष शिव आङ्ला, सचिव पर्शुराम नेपाल, प्रदेशसभा सदस्य निरन राई तथा जिल्ला समन्वय समिति प्रमुख निरेन तामाङले पनि स्थानीय तहको पुनरावलोकन गर्दा जनताको हित पहिलो सर्त हुनुपर्ने धारणा राखे।एमाले धनकुटा जिल्ला कमिटीका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख रविन कटेलका अनुसार अन्तरक्रियाबाट प्राप्त सुझावहरूलाई थप समेटेर पार्टीले आफ्नो धारणा तयार गर्नेछ।कार्यक्रममा अधिवक्ता हिमा बस्नेतले स्थानीय तह पुनर्संरचनासम्बन्धी कानुनी व्यवस्था र संवैधानिक पक्षबारे जानकारी गराएकी थिइन्।स्थानीय तहको सम्भावित पुनर्संरचनाबारे केन्द्रमा बहस चलिरहेका बेला एमाले धनकुटाले जिल्ला तहबाटै औपचारिक छलफल थालेपछि यो विषय अब स्थानीय राजनीतिक बहसको केन्द्र बन्न थालेको देखिएको छ।

