
२० चैत्र , धनकुटा । गत चैत्र २ गते आएको वर्षासहितको हावाहुरीबाट जिल्लाका विभिन्न सरकारी कार्यालय तथा निजि संंरचनामा पुगेको क्षतिको विवरण सम्बन्धित निकायमा पठाई राहत तथा आवश्यक कारवाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ।
जिल्ला विपद व्यवस्थापन समिति धनकुटाको आज बसेको बैठकले प्राप्त क्षति विवरणका आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेश, प्रदेश विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकले मनसुनजन्य विपद, डढेलो, आगलागी, हावाहुरी, चट्याङ लगायतका घटनाबाट हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धिका लागि विषयगत कार्यालय, स्थानीय तह र सरोकारवाला निकायलाई थप सक्रिय बनाउने समेत निर्णय गरेको छ । त्यसैगरी, मुख्य राजमार्ग, सार्वजनिक तथा सरकारी कार्यालय परिसर र अन्य स्थानमा रहेका जोखिमयुक्त रुखहरुको पहिचान गरी व्यवस्थापन गर्ने निर्णय पनि गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खडकाले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयसँग समन्वय गरी हालसम्म पहिचान भएका सल्लेरी राष्ट्रिय वनका १०५ सहित कुल ५३१ वटा जोखिमयुक्त रुख हटाईने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खडकाले जानकारी दिनिुभयो । हावा हुरीका कारण विभिन्न सरकारी कार्यालय तथा निजि संरचनामा क्षती पुगेको थियो ।











