
१४ चैत्र, धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धनकुटा जिल्ला कमिटीले पार्टी अध्यक्ष के.पी.शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै त्यसको विरोध गरेको छ। आजजारी प्रेस विज्ञप्तिमा एमालेले २०८२ साल फागुन २१ गते सम्पन्न निर्वाचनबाट बनेको सरकारले कथित आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा केही समयअघि ओलीलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत कदम भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, भदौ २३ र २४ गतेको राजनीतिक परिवर्तनलाई योजनाबद्ध रूपमा हाइज्याक गरी जननिर्वाचित सरकार र संसद विघटनतर्फ धकेल्दै गैरसंवैधानिक बाटोबाट बनेको सरकारले यस्तो कदम चालेको आरोप लगाइएको छ। एमालेले यसलाई लोकतान्त्रिक शक्तिमाथिको आक्रमण र सिंगो कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमाथिको प्रहारका रूपमा व्याख्या गरेको छ। एमाले धनकुटाले अध्यक्ष ओलीसहित पक्राउ परेका नेताहरूलाई तत्काल रिहा गर्न तथा यस्ता “प्रतिशोधपूर्ण” कार्य तुरुन्त रोक्न सरकारसँग माग गरेको छ। पार्टिका जिल्ला अध्यक्ष शिव आङ्ला लिम्बूले हस्ताक्षर गरेको विज्ञप्तीमा “यस्ता दमन र नाजायज कदमबाट विचलित नहुने” उल्लेख गर्दै जिल्ला कमिटीले आन्दोलनका लागि पार्टी पंक्ति, समर्थक र शुभेच्छुकलाई तयार रहन आह्वान गरेको छ।







