
७ चैत्र,धनकुटा । कोशी प्रदेश सरकारले धनकुटा अस्पताललाई मनमोहन प्राविधिक विश्वविद्यालयमा हस्तान्तरण गर्ने विषय पुनः चर्चामा आएको छ। विश्वविद्यालयले स्वामित्व ग्रहण गरेसँगै अस्पतालको ऐतिहासिकता मेटिने हो कि भन्ने चिन्ता धनकुटेली नागरिकमा बढ्न थालेको छ।

धनकुटा जिल्ला अस्पताल विकास समितिले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला निकायका प्रतिनिधिहरूले शिक्षण अस्पताल स्थापना सकारात्मक भए पनि धनकुटा अस्पतालको ऐतिहासिक पहिचान जोगाउनुपर्नेमा जोड दिएका छन्।
कार्यक्रममा वक्ताहरूले अस्पताल हस्तान्तरणको स्पष्ट आधार, दीर्घकालीन योजना र स्थानीयले पाउने स्वास्थ्य सेवाबारे ठोस खाका सार्वजनिक गर्न माग गरेका छन्। नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सन्जय सन्तोषी राईले अस्पतालको इतिहास मेटिने गरी हस्तान्तरण गर्न नहुने धारणा राखे ।
चिकित्सा शिक्षा आयोगको निर्देशनअनुसार मनमोहन प्राविधिक विश्वविद्यालयले बीएससी नर्सिङ कार्यक्रम सञ्चालनको तयारी गरिसकेको छ। यद्यपि, स्थानीय राजनीतिक दल तथा नागरिकहरूले हस्तान्तरणको औचित्यबारे प्रश्न उठाउँदै आएका छन्। कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बढी हल्ला मात्रै गरेर होइन आवश्यक बजेट विनियोजन गरेर काम थाल्न आग्रह गरे। राष्ट्रिय स्वतन्त्र पार्टी धनकुटाका सभापति वालानन्द दाहालले स्वास्थ्य सेवाको सुनिश्चिततासहित स्पष्ट योजना आवश्यक रहेको बताएका छन्। नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले धनकुटा अस्पतालको ऐतिहासिकतालाई नामेट पारेर कुनै पनि सम्झौता गर्न नहुने जिकिर गरे।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाका अध्यक्ष बिदुर खवासले धनकुटामा प्रादेशिक अस्पताल सञ्चालन हुनुपर्नेमा जोड दिँदै ऐतिहासिकता जोगाउँदै स्पष्ट खाका तयार गरेर कार्यक्रम ल्याउनुपर्ने बताए । यस्तै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले धनकुटा अस्पतालको ऐतिहासिकता जोगाउँदै थप कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा बोल्दै
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीले भने शिक्षण अस्पताल निर्माण धनकुटेलीको साझा चाहना भएकाले अस्पताल हस्तान्तरणको निर्णय गरिएको स्पष्ट पारे । उनले यो विश्वविद्यालयले पहाडी जिल्लाको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ र आगामी आर्थिक वर्षमा आवश्यक पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिने जानकारी दिए ।

मन्त्री पराजुलीले अस्पतालको ऐतिहासिकता नमेटिने गरी सञ्चालन गरिने आश्वासन पनि दिए ।
कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलले यसै आर्थिक वर्षदेखि प्राविधिक विश्वविद्यालय सञ्चालनका लागि बजेट व्यवस्था गरिने जानकारी दिए। तर उनले धनकुटेली नागरिकको भावना लाई ठेस नपुग्ने गरी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए। विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले धनकुटामा काम सुरु भएसँगै क्षेत्रको कायापलट हुने दाबी गरे। उनले प्रदेश सरकारले आवश्यक बजेट विनियोजन नगरेसम्म कुनै पनि कार्यक्रम सञ्चालन गर्न नसकिने स्पष्ट पारे। धनकुटाका नागरिकहरूको भावना र चाहनालाई मध्यनजर गर्दै प्रदेश सरकारको निर्णयअनुसार काम गरिने पनि स्पष्ट पारे।
वि.सं. १९७० मा स्थापना भएको धनकुटा अस्पताल ऐतिहासिक स्वास्थ्य संस्था हो। हाल यसलाई विश्वविद्यालय मातहत ल्याउने निर्णयसँगै यसको पहिचान जोगिने वा नजोगिने विषयमा बहस जारी छ।
कोशी प्रदेश सरकारले २०७६ सालमा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरेको हो। मोरङको बूढीगंगा गाउँपालिकामा अवस्थित विश्वविद्यालयमा हाल इन्जिनियरिङ, मेडिसिन तथा एप्लाइड साइन्ससम्बन्धी अध्ययन सञ्चालन भइरहेको छ।







